गोविन्द शर्मा
बाँके, वैशाख २० गते । नेपालगञ्ज रङ्गशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि करोडौँ रुपियाँ खर्च गरेर खेलकुदका संरचना निर्माण गरिए पनि संरचना प्रयोगविहीन भएको छ । नियमित खेल गतिविधि नहुँदा नेपालगञ्ज र ग्रामीण क्षेत्रमा बनाइएका खेलकुदका भौतिक संरचना प्रयोगविहीन बनेका हुन् । प्याराफितसहितको रङ्गशालामा बर्मुडा घाँससहितको मैदान निर्माण गरिएको भए पनि करिब चार वर्षे अवधिमा दुई वटा फुटबल प्रतियोगिता मात्रै सञ्चालन भएको छ ।
नियमित अभ्यास र प्रतियोगिता नभएपछि बर्मुडा घाँस सुकेको छ । मैदान समेत अस्तव्यस्त भएको छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले रङ्गशालामा मैदान निर्माणका लागि शुल्कको व्यवस्था गरिएको बताउनुभयो ।
प्रमुख चन्दले भन्नुभयो, “रङ्गशालाभित्र एउटा खेल आयोजना गर्न १० हजार रुपियाँ शुल्क निर्धारण गरिएको छ, राष्ट्रिय खेलकुदपछि यहाँ एकाध मात्रै प्रतियोगिता भएका छन् ।”
स्थानीय र प्रदेशस्तरीय प्रतियोगिताहरू शुल्क तिर्नुपर्ने भए पनि रङ्गशालाभित्र सञ्चालन हुन नसकेका हुन । जिल्ला र प्रदेशस्तरीय प्रतियोगिताका विजेता बाँकेका खेलाडी तथा क्लबले राष्ट्रिय प्रतियोगिताको तयारीका लागि समेत मैदान प्रयोग गर्न नपाएको गुनासो गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले रङ्गशालाभित्र प्रतियोगिता सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ । रङ्गशाला व्यवस्थापनका लागि आवश्यक भएकाले निश्चित शुल्क तोकिएको भन्दै उहाँले शुल्कबारे पुनर्विचार गर्न छलफल गरिने बताउनुभयो ।
सदस्यसचिव घिसिङले भन्नुभयो, “रङ्गशाला खेलकुद गतिविधि सञ्चालनका लागि हो, म प्रदेश र स्थानीयस्तरका खेलकुदहरू यहाँभित्र आयोजना गर्न आमन्त्रण गर्दछु ।” रङ्गशालालाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसङ्घसँग सम्बन्धितले माग गरेका छन् ।