• २४ भदौ २०८१, सोमबार

परमाणु शक्तिको उन्माद

क्युबाली क्षेप्यास्त्र सङ्कट

blog

सोभियत सङ्घले सन् १९६२ अक्टोबरमा क्युबाली धर्तीमा परमाणु क्षेप्यास्त्र तैनाथ गर्न लागेको विषयलाई लिएर विश्वका दुई शक्तिशाली राष्ट्र अमेरिका र सोभियत सङ्घ आमुन्नेसामुन्ने भएका थिए । यसबाट विश्व परमाणु युद्धमा होमिन लागेको अनुमानले चौतर्फी त्रास पैmलियो । इतिहासमा यो ‘क्युबाली क्षेप्यास्त्र सङ्कट’ भनेर चिनिन्छ । आफ्नो सीमाबाट मात्र एक सय ४४ किलोमिटर पर शत्रु राष्ट्रले परमाणु हतियार तैनाथ गर्दा अमेरिकाको टाउको दुख्नु स्वाभाविक पनि थियो । 

‘क्युबाली क्षेप्यास्त्र सङ्कट’ लाई लिएर अमेरिकी र सोभियत सङ्घका नेताबीच १३ दिनसम्म अत्यन्त तनावपूर्ण राजनीतिक र सैन्य गतिरोध बनिरह्यो । सन् १९६२ अक्टोबर २२ मा अमेरिकाका राष्ट्रपति जोन एफ केनेडीले क्युबामा सोभियत परमाणु क्षेप्यास्त्र तैनाथ गरिएको बारेमा अमेरिकीहरूलाई जानकारी दिँदै क्युबा वरिपरि जलसेनाले नाकाबन्दी लगाउने आफ्नो निर्णयको व्याख्या गरी राष्ट्रिय सुरक्षा सर्वोपरि मानी यस कथित खतरालाई निस्तेज पार्न आवश्यक परेको खण्डमा सैन्य ताकत प्रयोग गर्न अमेरिका तयार रहेको स्पष्ट पारे । राष्ट्रिपतिको यस मन्तव्यपछि मानिसहरू विश्व परमाणु युद्धको ढोकामा पुगेको अड्कल गर्न थाले, चारैतिर डरको वातावरण बन्न पुग्यो तर विपत्ति ट¥यो, अमेरिकाले क्युबामाथि आक्रमण नगर्ने प्रतिबद्धता जनाउने र सोभियत सङ्घका नेता निकिता ख्र्रुस्चेभले क्युबाबाट क्षेप्यास्त्र हटाउने प्रस्तावमा सहमति भयो । साथै केनेडीले टर्कीबाट समेत अमेरिकाका क्षेप्यास्त्र हटाउने गोप्य सहमति जनाएका थिए । जे होस् विश्व भयङ्कर 

विनाशबाट जोगियो । 

क्षेप्यास्त्रको खोजी

क्यारेबियन क्षेत्रको राष्ट्र क्युबामा सन् १९५९ मा सत्ता कब्जा गरेपछि वामपन्थी क्रान्तिकारी नेता फिडेल क्यास्त्रोले सोभियत सङ्घसँग आफूलाई नजिक बनाए । क्यास्त्रोको शासनकालमा क्युबाले आर्थिक उन्नति सोचे जसरी गर्न सकेन । 

उसको आर्थिक अवस्था कमजोर बन्दै गयो र सैन्य शक्तिसमेत क्षीण भयो । यसर्थ क्युबा सोभियत सङ्घबाट सैन्य र आर्थिक सहायता लिन थाल्यो, यी विषयमा क्युबा परनिर्भर नै भयो । त्यस अवधिमा अमेरिका र सोभियत सङ्घ तथा यी देशका पक्षधर शीत युद्धमा संलग्न थिए । सन् १९४५ देखि १९९० सम्म चलेको शीत युद्ध यस्तो प्रतिस्पर्धा थियो जसअन्तर्गत राजनीतिक र आर्थिक सङ्घर्ष उत्कर्षमा पुग्यो तर एकअर्का विरुद्ध सैन्य शक्ति प्रत्यक्ष परिचालन भने भएन ।             

सन् १९६२ अक्टोबर १४ मा अमेरिकी जासुसी विमान यू–२ उडाइरहेका पाइलट मेजर रिचर्ड हेसरले क्युबामा सोभियत सङ्घले क्षेप्यास्त्र तैनाथ गर्न लागेको सर्वप्रथम थाहा पाएका थिए । त्यसदिन निकै उचाइमा रहेर क्युबामाथि उडान गर्दै गर्दा रिचर्डले मध्यम दूरीमा मारक क्षमता भएको सोभियत सङ्घको एसएस–४ बालेस्टिक क्षेप्यास्त्र तैनाथीका लागि तयारी गरिँदै तस्बिर खिचेपछि विश्वका दुई महाशक्ति राष्ट्रबीच शीत युद्धकालको सबैभन्दा डरलाग्दो अवस्था सिर्जना भयो ।  

अमेरिकाका राष्ट्रपति केनेडीलाई त्यस बारेमा अक्टोबर १६ मा अवगत गराइयो र उनले तुरुन्तै आफ्ना सल्लाहकार तथा कार्यकारी कमिटी भनेर बुझिने अधिकारीहरूलाई एकसाथ बैठकका लागि बोलाए । त्यसपछिको लगभग दुई हप्ता राष्ट्रपति केनेडी र उनको टोली कूटनीतिक सङ्कटमा अहोरात्र खटियो, सोभियत सङ्घ पनि यसरी नै खटेको थियो ।

अमेरिकालाई नयाँ खतरा

अमेरिकी अधिकारीहरूको पक्षबाट हेर्दा उनीहरूमा यतिको व्याकुलता र तत्परता देखिनुको मुख्य कारण के थियो भने परमाणु हतियारले सुसज्जित क्युबाली क्षेप्यास्त्रहरू अमेरिकी मुख्य भूमिबाट मात्र १४४ किलोमिटरको दूरी (फ्लोरिडा नजिकै)मा तैनाथ गरिँदै थिए । प्रक्षेपण गरिने स्थानबाट ती क्षेप्यास्त्र छोटो समयमा अमेरिकाको पूर्वी भेगका लक्ष्यमा पुग्न सक्थे । यदि ती क्षेप्यास्त्र क्युबामा तैनाथ गर्न दिइएमा ती क्षेप्यास्त्रले अमेरिका र सोभियत सङ्घबीच परमाणु प्रतिद्वन्द्विता रूप रङ नै फेरिने थियो, जो त्यस अवस्थासम्म अमेरिकी वर्चस्वमा थियो भन्न सकिन्छ ।      

सोभियत सङ्घका नेता निकिता ख्रुस्चेवले आफ्नो देशको परमाणु प्रहार क्षमता बढाउने ठूलो लक्ष्य लिएर क्युबामा क्षेप्यास्त्र पठाई दाउ खेलेका थिए । पश्चिम युरोप र टर्कीका विभिन्न क्षेत्रबाट आफूलाई लक्ष्य बनाउन सकिने गरी तैनाथ गरिएका परमाणु हतियारको सङ्ख्याले सोभियत सङ्घका अधिकारीलाई धेरै पहिलेदेखि असहज महसुस भइरहेको थियो । यस कारण उनीहरूले क्युबामा परमाणु क्षेप्यास्त्र तैनाथ गर्न सकिए मैदानमा बराबरीको लडाइँ हुने ठानेका थिए । यसमा अर्को महìवपूर्ण कुरा हामीले बिर्सन हुँदैन अमेरिका र क्युबाबीचको कटु सम्बन्धले समेत सोभियत सङ्घ परमाणु क्षेप्यास्त्र त्यहाँ तैनाथ गर्न हौसिएको थियो । 

सन् १९६१ मा केनेडी प्रशासनले क्युबामा सैन्य कारबाही गर्दा सफलता पाएको थिएन । जुन ‘वे अफ  पिग्स इन्वेसन’ नामले इतिहासमा परिचित छ । यस कारण पनि क्यास्त्रो र ख्रुस्चेवले अमेरिकाको थप आक्रमण रोक्नका लागि परमाणु क्षेप्यास्त्रलाई प्रभावकारी उपाय मानेका थिए । 

विकल्पमा केनेडीका विचार

सङ्कट सुरु भएदेखि नै केनेडी र उनको टोलीले क्युबामा सोभियत सङ्घका क्षेप्यास्त्रको उपस्थिति अस्वीकार्य भएको कुरामा एकमत थियो । यसमा उनीहरूका अगाडि मुख्य चुनौती के थियो भने सङ्कटले चौतर्फी द्वन्द्वको रूप नलिने र परमाणु युद्ध सुरु नहुने गरी ती क्षेप्यास्त्रलाई क्युबाबाट हटाउने उपाय खोज्नु । लगभग एक हप्तासमम चलेको 

विचार–विमर्शबाट उनीहरूले अनेक विकल्प तयार पारे । जसमा क्षेप्यास्त्र तैनाथ गरिन लागेका क्षेत्रमा बम बर्साउने र क्युबामा पूरा ताकतका साथ हमला गर्ने विकल्प पनि थिए तर केनेडीले अन्ततः अधिक सुझबुझपूर्ण विधि अपनाउने निर्णय लिए । पहिले त अमेरिकी जलसेनालाई परिचालन गरेर क्युबामाथि नाकाबन्दी लगाएर सोभियत सङ्घलाई थप क्षेप्यास्त्र र सैन्य सामग्री आपूर्ति गर्नबाट रोक्ने । दोस्रो, आपूर्ति भइसकेका क्षेप्यास्त्र हटाउन चेतावनी दिने । 

सन् १९६२ अक्टोबर २२ मा टेलिभिजन प्रसारणमा बोल्दै राष्ट्रपति केनेडीले क्युबामा क्षेप्यास्त्र ल्याइएको जानकारी अमेरिकीहरूलाई दिए । त्यसक्रमा केनेडीले क्युबामाथि नाकाबन्दी लगाउन लागेको आफ्नो निर्णय पनि सुनाए तथा राष्ट्रिय सुरक्षामा आइपरेको यस सङ्कटलाई निस्तेज पार्न अमेरिकाले सैन्य कारबाहीको तयारीसमेत गरेको स्पष्ट पारे । अमेरिकी राष्ट्रपतिले सार्वजनिक गरेका यी कुरा सुनेपछि विश्वमा हल्लीखल्ली मच्चियो । अब सोभियत सङ्घले कस्तो प्रतिक्रिया देखाउला भनी व्यग्र प्रतीक्षा गर्न थालियो । केही अमेरिकीहरू त सम्भावित परमाणु युद्धको डरले खाद्यवस्तु र इन्धन भण्डार गर्न लागिसकेका थिए । एक खालको कोलाहल र अन्योलको वातावरण सिर्जना भएको थियो ।

गतिरोध अन्त्य गर्ने सहमति

भयङ्कर तनावको अवस्था भए पनि सोभियत सङ्घ र अमेरिकाका नेता निकासको बाटो खोज्न सफल भए । सङ्कट अवधिमा अमेरिका र सोभियत सङ्घबीच पत्राचार तथा अन्य सञ्चार कार्य भयो । अक्टोबर २६ मा ख्रुस्चेभले एउटा पत्र केनेडीलाई पठाएर क्युबामा अमेरिकाले आक्रमण नगर्ने प्रतिबद्धता जनाए सोभियत सङ्घले क्युबाबाट क्षेप्यास्त्र हटाउने सर्त अगाडि सारे । भोलिपल्टै सोभियत नेता ख्रुस्चेभले अर्को पत्र सम्प्रेषित गरी यदि अमेरिकाले टर्कीमा तैनाथ आफ्ना क्षेप्यास्त्र हटाएमा सोभियत सङ्घले क्युबामा जडित आफ्ना क्षेप्यास्त्र हटाउने प्रतिबद्धता जनाए । 

आधिकारिक रूपमा केनेडी प्रशासनले प्रथम पत्रका सर्त स्वीकार गर्ने तथा ख्रुस्चेभको दोस्रो पत्रका शर्तलाई पूर्णतया अस्वीकार गर्ने निर्णय लियो । वास्तवमा भित्री कुरा के थियो भने अमेरिकाले टर्कीमा तैनाथ आफ्ना क्षेप्यास्त्रलाई हटाउने सहमतिसमेत जनाएको थियो । अमेरिकाका महान्यायाधिवक्ता रोबर्ट केन्नेडीले व्यक्तिगत रूपमा यो सन्देश वासिङ्टनमा रहेका सोभियत सङ्घका राजदूतलाई दिएका थिए । अनि अक्टोबर २८ मा यो भयङ्कर सङ्कट समाप्त भयो । 

‘क्युबाली क्षेप्यास्त्र सङ्कट’ ले अमेरिका र सोभियत सङ्घ दुवैको उन्माद कम भयो । यस खालका परिस्थिति साम्य पार्नमा सहयोग पुगोस् भनी अर्को वर्ष वासिङ्टन र मास्कोबीच सोभसे टेलिपसेन सम्पर्कका लागि ‘हट लाइन’ स्थापना गरियो । साथै दुवै महाशक्तिबीच परमाणु हतियारसम्बन्धी दुई सन्धिमा समेत हस्ताक्षर भयो । तैपनि शीत युद्ध जारी थियो र परमाणु हतियारको होडबाजी सकिएको थिएन । यथार्थमा यस सङ्कटले एउटा उत्तरदान के दिएर गयो भने सोभियत सङ्घले आफ्नो क्षेत्रबाटै 

सोभैm अमेरिकासम्म मार हान्न सक्ने क्षमताको अन्तरमहादेशीय क्षेप्यास्त्र विकासमा लगानी बढाउन आवश्यक रहेको ठान्यो र त्यसको नतिजा आज हामी देखिरहेका छौँ । 

हिस्ट्रीबाट उमेश ओझाद्वारा 

अनुवादित र सम्पादित ।