• २२ असार २०८१, शनिबार

विद्यालय भवन निर्माण सम्पन्न

blog

बाबुराम शर्मा

दोलखा, वैशाख २० गते । भूकम्प गएको आठ वर्ष बितिसक्दा पनि विदेशी दाताले निर्माण गरिदिने भनेका दोलखाका करिब दुई दर्जन विद्यालय भवन अझै बनेका छैनन् । दोलखा जिल्लाका भूकम्पमा क्षति भएका ६४९ विद्यालय भवनमध्ये ६४१ वटाको निर्माण सम्पन्न भइसकेको छ भने  आठवटा निर्माणाधीन छन् । यसमा विद्यालय व्यवस्थापन समिति, एडीबी, जापान, भारत, चीन तथा शिक्षा विकास तथा समन्वय एकाइ र गैरसरकारी संस्थाको निर्माण सहयोग रहेको छ । 

सबभन्दा बढी विद्यालय व्यवस्थापन समितिले २११ वटा, शिक्षा विकास तथा समन्वय एकाइबाट मर्मत र नयाँ ट्रस्ट भवन गरी १५१ वटा, विभिन्न सङ्घसंस्थाबाट १३९ वटा, ठेक्काबाट २२ वटा सम्पन्न भएका छन् । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले भन्नुभयो, “अहिलेसम्म विद्यालय भवन पुनर्निर्माणमा नेपाल सरकार तथा दाताबाट आठ अर्ब ३४ करोड ५५ लाख रुपियाँ लगानी भएको छ ।” 

भारत सरकारबाट २०७७ साल चैतदेखि सुरु भई २०७८ जेठ महिनामा सम्पन्न गर्ने गरी ७४ करोड ८१ लाख ६५ हजार रुपियाँमा पुनर्निर्माण सुरु भएका १० वटा विद्यालयमध्ये कालिञ्चोक मावि, चरीकोट; भीम मावि, दोलखा; कालीढुङ्गा मावि, मिर्गे; गुप्तेश्वर मावि, मालु; क्षत्रावती मावि, क्षेत्रपा र दुर्गा मावि, शैलुङ मात्र सम्पन्न भएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख शङ्करबाबु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कालापानी मावि, जफे; शान्ति आदर्श मावि, लादुक र मानेडाँडा मावि, झ्याकु गरी तीनवटा भवन पुनर्निर्माण भइरहेका छन् । 

त्यसैगरी चीन सरकारको दुई अर्ब १७ करोड रुपियाँको लगानीमा भूकम्प प्रभावित कालीनाग मावि, सिँगटी र सर्व मावि जिलु ‘टर्न की प्रोजेक्ट मोडालिटी’मा निर्माणाधीन छन् । नेपाल र चीन सरकारको द्विपक्षीय सम्झौतामा शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमार्फत जिरी माध्यमिक विद्यालयको भवन निर्माण भइरहेको छ । त्यस्तै ११ करोड ५० लाख रुपियाँमा ‘जापानिज फन्ड फर पोभर्टी रिडक्सन सपोर्ट प्रोजेक्ट’अन्तर्गत दोलखा जिल्लामा एक नमुना माविको भवन निर्माण गर्ने लक्ष्यअनुसार हनुमन्तेश्वर माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो ।  

एसियाली विकास बैङ्क (एडीबी)को सहयोगमा निर्माण हुने ११ वटा विद्यालय भवनमध्ये शारदा मावि, भैँसे; थम्पु मावि, आलम्पु र जनज्योति मावि, पुतलीकाठका भवन निर्माणाधीन छन् । पशुपति कन्या मावि, चरीकोट; जनज्योति मावि, लेप्टुङ; देवी मावि, बोच; लापिलाङ मावि, लापिलाङ; जनज्योति मावि, पुतलीकाठ; सत्यश्वर मावि, पवटी; चित्रे मावि, लादुक; कालिका मावि, हावा र बालोदय मावि, कालिञ्चोकका भवन हस्तान्तरण भइसकेका छन् । गैरसरकारी संस्थामार्फत ९६ करोड ३९ लाख रुपियाँ लगानीमा १३२ विद्यालय भवन पुनर्निर्माण सम्पन्न भइसकेका छन् ।