वसन्त पराजुली
भरतपुर, वैशाख १९ गते । हरेक नेपाली चलचित्रकर्मीको सपना भारतीय चलचित्र उद्योगमा काम गर्ने हुन्छ । सपना सबैको पूरा भने हुँदैन । यसका लागि मेहनत, धैर्य, ज्ञान र सीप आवश्यक हुन्छ । यस्तै क्षमता प्रयोग गरेर आफ्नो सपना पूरा गरिरहनुभएको छ; धनुषा मिथिला नगरपालिका–१०, लालगढका अञ्जन गजुरेलले ।
‘कुसुम’, ‘कसौटी जिन्दगीकी’जस्ता चर्चित भारतीय टेलिसिरियलमा मात्र होइन; ‘लुडो’, ‘साया’, ‘मर्डर’, ‘इन्तिहा’जस्ता १२ वटा भारतीय चलचित्रमा कला निर्देशन गरेर नेपालीको शिर उँचो पार्नुभएको छ गजुरेलले । भारतीय चलचित्र नगरी मुम्बईमा बसेर कला क्षेत्रमा काम गर्ने गजुरेलले अहिलेसम्म ५० वटा भारतीय टेलिसिरियलमा कला निर्देशन गरिसक्नुभएको छ ।
सन् १९९८ मा ललितकला क्याम्पसबाट प्रमाणपत्र तह अध्ययन पूरा गरी भारतको जेजे स्कुल अफ आर्टबाट स्नातक पूरा गरेको विगत सम्झँदै उहाँ भन्नुहुन्छ, “अध्ययन पूरा गरेपछि सन् २००२ मा मुम्बईको ख्यातिप्राप्त जँहागिर आर्ट ग्यालरीमार्फत यस क्षेत्रमा प्रवेश गरेँ ।” उहाँ भन्नुहुन्छ, “पहिलो पटक गरिएको प्रदर्शनीमा २२ वटा चित्र प्रदर्शन गरेँ । मसँगै चित्र प्रदर्शन गर्ने साथीले चित्र नबिकेपछि मुम्बईमा सस्तो बजारमा चित्र बेचेको देखेपछि आर्ट छोडेर चलचित्र रोजेँ ।”
सन् २००५ मा प्रदर्शित भारतीय चलचित्र ‘काबुल एक्सप्रेस’बाट चलचित्रको कला निर्देशनमा होमिएका गजुरेल भन्नुहुन्छ, “चलचित्रको कथा लेख्दा कथाकारले जुन दृश्यको व्याख्या गराउँछ, त्यसलाई राम्रोसँग प्रस्तुत गरिनु नै चलचित्र कला हो ।” उहाँ कलाकारलाई ‘फिलिङ्स’ दिएर कला भर्नु चुनौती भएको बताउनुहुन्छ । “कथाले खोजेको फिलिङ्सअनुसार कला तयार हुनुपर्छ । दुःखको बेला छ भने कलामा पनि दुःख नै बनाउनु प-यो । खुसीको अवस्था छ भने यहाँ खुसीकै अवस्थाको कला पोख्नु प¥यो,” उहाँले भन्नुभयो । “चलचित्र कला र क्यानभास एकआपसबाट अलग छैनन् । कला एउटै हो,” उहाँ भन्नुहुन्छ, “चलचित्रमा त्यो क्षणिक बनाइन्छ भने क्यानभासमा जीवन्त बनाउनुपर्ने हुन्छ ।” नेपाली चलचित्र ‘कोहिनुर’मा समेत कला निर्देशन गर्नुभएका गजुरेल भारतीय रियालिटी सो ‘सारेगामा लिटिल च्याम्पियन’ र ‘क्राइम सो’को पनि कला निर्देशक हुनुहुन्छ ।
भारतका चर्चित अभिनेता शाहरुख खान र अमिर खानसँग मात्र होइन, थुप्रै कलाकरसँग काम गरेको उहाँसँग अनुभव छ । शाहरुख खानसँग ‘लुङ्गी डान्स’ र अमिर खानसँग ‘दिल्ली वेली’मा उहाँले काम गरिसक्नुभएको छ । “सुरुमा एउटा चलचित्र निर्देशन गर्दा २० हजार भारतीय रुपियाँ कमाउन पनि गाह्रो हुन्थ्यो,” उहाँ भन्नुहुन्छ, “अहिले एउटै चलचित्रबाट २० देखि ३० लाख भारु कमाइ हुन्छ ।” एउटा चलचित्र सकिन चारदेखि छ महिना लाग्ने उहाँ बताउनुहुन्छ । “भारतको एउटा चलचित्रले कलामा मात्र २० करोडदेखि ५० करोड भारु खर्च गर्छन्,” उहाँ थप्नुहुन्छ, “नेपालमा कलामा त्यति धेरै बजेट खर्च गरेको पाइँदैन ।” कलाकै लागि चलचित्रमा सयदेखि २५० जनासम्मको समूह हुने र त्यसको नेतृृत्व कला निर्देशकले गर्ने उहाँ बताउनुहुन्छ । सन् २०११ मा भारतीय दूतावासले नेपालबाट बलिउडमा स्थापित नेपालीका बारेमा तयार गरेको ‘रेन्बो ओभर मुम्बई’ नामक वृत्तचित्रमा उहाँको पनि परिचय राखिएको छ ।