बाबुराम देवकोटा
सिन्धुलीमाढी, वैशाख १९ गते । पहिले गाउँघरमै खेती गर्दै आएका कमलामाई नगरपालिका–३, चपौलीका खिलप्रसाद सिग्देल अहिले गाउँकै गतिलो व्यापारीका रूपमा गनिनुहुन्छ । घरमुनिबाट बीपी राजमार्ग जोड्ने सोलाभन्ज्याङ–मझुवा सडक निर्माण भएपछि उहाँको पेसासँगै पहिचान बदलिएको हो । अहिले यो सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ ।
व्यापारी सिग्देलले भन्नुभयो, “घरमुनिबाटै पक्की सडक निर्माण भएपछि व्यापार व्यवसाय सुरु गरेको हो । व्यवसायबाट सन्तुष्टि मिलेको छ ।” सडक निर्माणसँगै गाउँका अरू किसान पनि व्यावसायिक रूपमा तरकारी खेती, फलफूल खेतीलगायतका आयआर्जनका काममा जुट्न थालेका उहाँको भनाइ छ । सडक निर्माणपछि सिग्देलजस्तै धेरैको आय आर्जन बढेको छ । यसले जीवनस्तरमा सकारात्मक प्रभाव पारेको छ । ट्याक्टर भए पनि सबै गाउँपालिकाका वडामा पु-याउन सिन्धुली सफल भएको सामाजिक विकासका अगुवा एवं गोलन्जोर गाउँपालिका–७, खुर्कोटका शरद आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदयाममा सबै वडामा साना या ठूला सवारीसाधन पुगेका छन् तर वर्षायाममा भने यी सबै वडामा सवारी पु¥याउन कठिन हुन्छ ।” वडामा जाने बजेट बाँडफाँट गर्दा पनि स्थानीय बासिन्दाको पहिलो रोजाइमा सडक नै पर्ने गरेको उहाँको भनाइ छ । गाउँगाउँमा सडक पुगेपछि सदरमुकाममा पाइने दैनिक उपभोग्य सामग्री स्थानीयस्तरमै पाइन थालेको र त्यसले ग्रामीण जनजीवनलाई निकै सहज बनाएको स्थानीय बासिन्दा बताउँछन् ।
पछिल्लो समय सडक सञ्जाल विस्तारमा धेरै काम भइरहेकाले अहिले सिन्धुली जिल्लाका दुई नगरपालिका र सातवटै गाउँपालिकाका सबै वडालाई सडक सञ्जालले जोडेको जिल्ला समन्वय समितिले जनाएको छ । “अब सिन्धुलीका कुनै पनि वडा सडकको पहुँचबाहिर छैनन् । सबैभन्दा बढी वडालाई निर्माणाधीन ठूला राजमार्गले नै छोएको छ,” समितिका प्रवक्ता उत्पल खड्काले भन्नुभयो । सिन्धुली जिल्लाका नौवटै स्थानीय तहका सबै वडा सडक सञ्जालमा जोडिएका छन् । राष्ट्रिय राजमार्गहरू मदन भण्डारी राजमार्ग, मध्यपहाडी राजमार्ग र बीपी राजमार्ग निर्माण भएसँगै यस जिल्लाका ७९ वटै वडा सडक सञ्जालमा जोडिएका हुन् ।
६३ वडामा राष्ट्रिय राजमार्ग
सिन्धुली जिल्लाका ६३ वडामध्ये कुनै न कुनै गाउँपालिकालाई राष्ट्रिय राजमार्गसँग जोडिएका छन् । बीपी राजमार्गले कमलामाई नगरपालिका, गोलन्जोर गाउँपालिका र सुनकोशी गाउँपालिकाका वडालाई छोएको छ । मदन भण्डारी राजमार्गले दुधौली नगरपालिका, कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका वडालाई छोएको छ । त्यस्तै मध्यपहाडी राजमार्गले गोलन्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाका वडालाई छोएको छ ।
तीन गाउँपालिकामा सहायक राजमार्ग
राष्ट्रिय राजमार्गले नछोएका तीनपाटन गाउँपालिका र घ्याङ्लेख गाउँपालिकाले पनि गाउँपालिका, प्रदेश र सङ्घीय सरकारबाट प्राप्त बजेटबाट सडक निर्माण गरेका छन् । तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरका अनुसार बीपी राजमार्गको माझीटार चोकदेखि गाउँपालिका केन्द्र चकमकेसम्म ४० किलोमिटर सडक सङ्घीय र बागमती प्रदेश सरकारको बजेटमा कालोपत्रे भइरहेको छ । यस गाउँपालिकाका ११ वडामा प्रदेश सरकार र गाउँपालिकाको बजेटबाट सडक निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
बीपी राजमार्गको पीपलभन्ज्याङदेखि घ्याङ्लेख गाउँपालिकाको केन्द्र बस्तीपुर हुँदै सोलाभन्ज्याङसम्म २९ किलोमिटर सडक भूकम्पीय परियोजनाअन्तर्गत पक्की सडक निर्माण भएको छ । गाउँपालिकाको केन्द्रसम्म सडक पुगेपछि पाँच वडामध्ये बाँकी तीनवटा वडामा गाउँपालिका र प्रदेश सरकारको सहयोगमा सडक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले जानकारी दिनुभयो ।