• ६ जेठ २०८१, आइतबार

रास्वपालाई सरकारमा लैजान छलफल गर्ने

blog

काठमाडौँ, वैशाख १९ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउन सत्ता साझेदार दलमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलका अनुसार प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससहित सरकारमा सहभागी दलहरूसँग रास्वपालाई सरकारमा ल्याउने सम्भावनाबारे छलफल गर्नुहुने भएको हो ।

स्वतन्त्र पार्टीले सरकारमा जाने–नजाने विषयमा निर्णय गर्न सोमबार केन्द्रीय समिति बैठकमा छलफल गरे पनि निर्णय भने शुक्रबारको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट गर्ने भएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्ड र स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आइतबार भेट भएको थियो । भेटमा प्रधानमन्त्री प्रचण्डसमक्ष सभापति लामिछानेले चारबुँदे माग राख्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डले पनि स्वतन्त्र पार्टीको मागमा आफू सकारात्मक रहेको बताउँदै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको थियो ।

उहाँले साबिककै मन्त्रालय दिएर स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने सन्दर्भमा पनि छलफल गर्ने बताउनुभएको थियो । यसअघि गृह मन्त्रालयसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्वतन्त्र पार्टीले लिएको थियो। तर अहिले अर्थ मन्त्रालयमा पनि उक्त पार्टीले दाबी गरिरहेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँग छलफल गरी निर्णयमा पुग्ने तयारी गर्नुभएको हो। 

प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले भन्नुभयो, “प्रधानमन्त्रीज्यू र सभापति लामिछानेबीचको छलफलमा सरकारमा सहभागिताको सन्दर्भमा छलफल भयो। तर सत्ता साझेदार दलहरूसँग छलफल गरेर मात्रै यो विषयमा निर्णय हुन्छ।”

उहाँका अनुसार सत्तारूढ दलबीचको छलफलको मिति तय भइसकेको छैन। स्वतन्त्र पार्टीको शुक्रबार बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकअघि सत्तारूढ दलबीच छलफल हुनसक्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “तर स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउने विषय अहिलेसम्म कुनै निर्णयचाहिँ भइसकेको छैन।”

स्वतन्त्र पार्टीले सरकारमा जाने–नजाने विषयमा निर्णय गर्न शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। सोमबार बसेको केन्द्रीय बैठकले सरकारमा सहभागिताका सन्दर्भमा निर्णय गर्न संयुक्त बैठकको आह्वान गरेको हो। 

यसैबीच स्वतन्त्र पार्टीका सभापति लामिछाने संसदीय दलको नेता चयन हुनुभएको छ। संसदीय दलको बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको नेतामा लामिछानेलाई चयन गरिएको बताउनुभयो । संसदीय दलको सचेतकमा निशा डाँगी चयन हुनुभएको छ। साथै स्वतन्त्र पार्टीले ३६ वटा केन्द्रीय विभाग पनि गठन गरेको छ।