• १३ मंसिर २०८१, बिहिबार

सरकारले श्रमिकको पक्षमा काम गर्नुपर्छ : अध्यक्ष ओली

blog

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १८ गते । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले श्रमिकको पक्षमा काम नगरेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउँदिन भन्दा समेत सरकारले केही गर्न नसकेको उहाँले चर्चा गर्नुभयो । सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले नउठाएको बारे सरकारले जनतालाई जानकारी समेत गराउन नसकेको उहाँको भनाइ छ । अध्यक्ष ओलीले सहरी विकास मन्त्रालयले सिंहदरबारको फोहोर उठाउने काम ठेक्कामा दिएको तर ठेकेदारले काम नगरेको उहाँले बताउनुभयो । सरकार र ठेकदारबीचको सम्बन्धबारे खोजी गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्थामा आएका छौँ । अहिले चौतर्फी ढङ्गले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्रविरुद्ध, जनताले पाएका अधिकारविरुद्ध सक्रिय भएर सलबलाउन थालेका छन् ।” 

कोहीकोही दुलाबाट फुत्त निस्केलान कि जस्तो गरेर दुलोबाट मुसोले बिरालो हेरेजसरी अनुकूल स्थिति आयो कि आएन भनेर हेर्न थालेको उहाँले टिप्पणी गर्नुभयो । नेपाली जनता सजग हुनुपर्ने बेला आएको चर्चा गर्नुहुँदै अध्यक्ष ओलीले श्रमजीवी नागरिकको पक्षमा सरकारले स्पष्ट योजना बनाएर काम नगरेको बताउनुभयो । फोहोरमाथि राजनीति गर्ने प्रपञ्च भइरहेको टिप्पणी गर्नुहुँदै अध्यक्ष ओलीले जनतालाई पीरमर्कामा पार्ने छुट कसैलाई नभएको बताउनुभयो । 

त्यस अवसरमा अध्यक्ष ओलीले श्रमिकबीच फाटो ल्याउने प्रयास भइरहेको आशङ्का व्यक्त गर्नुभयो । त्यसलाई निस्तेज पारेर अघि बढ्न सबै मजदुरलाई उहाँले बताएकतावद्ध हुन आह्वान गर्नुभयो । मजदुरको हक, हित र उनीहरूको जायज माग सम्बोधन गर्न श्रमिकबीच एकता सबैभन्दा ठूलो बल भएको उहाँले चर्चा गर्नुभयो ।