मुना हमाल
सुर्खेत, वैशाख १७ गते । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको छ । आइतबार बसेको पहिलो अधिवेशनको अन्तिम बैठकमा सभामुख नन्दा गुरुङ्गले प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन अन्त्य भएको जानकारी दिनुभयो ।
प्रदेश सभाको पहिलो अधिवेशनको प्रथम बैठक २०७९ पुस १८ गते बसेको थियो । त्यस यता पहिलो अधिवेशन अन्तर्गत १५ वटा प्रदेश सभाको बैठक बसेको छ । यस अवधिमा २० घण्टा ७ मिनेट ९ सेकेण्ड प्रदेश सभाको बैठक सञ्चालन भएको छ ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनले सभामुख र उपसभामुखको निर्वाचन, कार्य व्यवस्था परामर्श समिति गठन, विषयगत समितिहरुको गठन लगायतका कार्यहरु गरेको छ । यस अधिवेशनमा दुई वटा विधेयक प्रदेशसभाको बैठकमा टेबल भएको छ । कर्णाली प्रदेश खेलकुद विकास ऐन २०७६ लाई संशोधन गर्न विधेयक र कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक टेबल भएको हो । यी विधेयकलाई समान्य छलफलपछि विषयगत समितिमा पठाइएको छ ।