• १३ मंसिर २०८१, बिहिबार

क्यान्सर अस्पतालमा लिन्याक मेसिन जडान

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, वैशाख १७ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका लागि सबैभन्दा महत्वपूर्ण मानिने लिन्याक मेसिन जडानको कार्य सुरु गरिएको छ। लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो।

सो मेसिन जडान भएर सञ्चालनमा आएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमै रेडियसनका माध्यमबाट क्यान्सरको उपचार गर्ने यो अस्पताल एक मात्र र पहिलो अस्पताल बन्ने अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईले दाबी गर्नुभयो। 

करिब २५ करोड मोलमा उक्त मेसिन ल्याइएको बताइएको छ। यो मेसिनबाट पाठेघरको मुख, स्तन, नाक, कान घाँटीलगायत शरीरका विभिन्न अङ्गमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गरिन्छ । 

सो मेसिन जडानको पहिलो चरणको काम सम्पन्न भइसकेको र दोस्रो तथा अन्तिम चरणको जडानको कार्य विदेशी प्राविधिकले आएर बोलाउनुपर्ने भएको कार्यकारी निर्देशक डा. भट्टराईले बताउनुभयो। अहिले ३० जना बिरामी उक्त मेसिनको सेवा लिन भरतपुर र भक्तपुर क्यान्सर अस्पताल धाउन बाध्य छन्। भरतपुर र भक्तपुरमा पनि उक्त मेसिनको सेवा लिन एक महिनादेखि ४५ दिनसम्म पालो पर्खनुपर्ने बाध्यता छ। 

यसअघि सो अस्पतालमा उपचारका लागि आउने क्यान्सरका बिरामीहरूका लागि पोजेटिभ प्रेसर आईसीयू निर्माण गरेर सञ्चालनमा आइसकेको छ। यो आईसीयू पनि यस क्षेत्रका लागि पहिलो र क्यान्सरका सिकिस्त बिरामीहरूका लागि अति आवश्यक हो। अस्पतालमा सेवा सुरु भएको नौ वर्ष पुग्न लाग्दा पनि अस्पतालको दरबन्दी तय नभएकाले काजमा खटाइएका चिकित्सक र करारमा सेवा दिइरहेका चिकित्सकले स्वास्थ्य सेवा दिइरहेका छन्। अस्पतालसम्म सार्वजनिक यातायात सञ्चालनका लागि नेपालगञ्ज उपमहानगर तथा कोहलपुर नगरपालिकासँग अनुरोध र समन्वयको पहल पनि भइरहेको उहाँले बताउनुभयो। यसैगरी बिरामीको विद्युतीय रेकर्ड राख्ने तथा अनलाइनबाटै शुल्क बुझाउने र मोबाइलमै रिपोर्ट हेर्न मिल्ने प्रविधि पनि सञ्चालनमा ल्याउन लागिएको अस्पतालले जनाएको छ। यसैगरी अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क वा सस्तो शुल्कमा खाना खुवाउने पहल पनि भइरहेको छ।

अस्पतालमा हाल २० जना विशेषज्ञ चिकित्सकसहित करिब १२५ जनाको टिमले बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएको छ। अस्पतालमा मेडिकल अङ्कोलोजी, सिटी स्क्यानको माध्यबाट गरिने वायोप्सी, किमोथेरापीलगायत सबै किसिमका क्यान्सरको पहिचान र उपचार सेवा दिन सक्ने अवस्थामा पुगेको छ। अप्रेसन थिएटर, प्रयोगशाला, रेडियोलोजी विभाग, किमोथेरापी, हिस्टोप्याथोलोजी, ब्राकीथेरापी र कल्पोस्कोपीलगायतका संरचनाहरू तयार भएर सेवा सञ्चालन भइरहेको छ। 

अस्पतालमा सेवा विस्तारसँगै सेवाग्राहीको चाप पनि बढिरहेको अस्पतालले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा १० हजार सेवाग्राही अस्पतालमा पुगेकोमा गत आर्थिक वर्ष २०७८/७९ मा २५ हजारभन्दा बढी सेवाग्राही पुगेका अस्पतालले जनाएको छ।