• १५ असार २०८१, शनिबार

बन्यो बुटवलमा आधुनिक वधशाला

blog

कपिल ज्ञवाली

सिद्धार्थनगर, वैशाख १७ गते । रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा गरेका पसलबाट मासु उपभोग गरिरहेका थिए। अब वधशाला सञ्चालनको तयारी भएसँगै उपभोक्ताले स्वच्छ मासु खान पाउने भएका छन्।

बुटवल उपमहानगरपालिका–१०, रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा वधशाला निर्माण भएको वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका बीचमा सहमति भएको छ। दुई पक्षबीच भएको सहमतिअनुसार पशु वधशाला छिटै सञ्चालनमा आउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। वधशाला सञ्चालनका लागि उत्पादक किसान र मासु व्यवसायीले गठन गरेको बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई हस्तान्तरण गरिने छ। सार्वजनिक निजी साझेदारीमा वधशाला सञ्चालन गर्ने विधिअनुरूप वधशालाको पूर्वाधारको निर्माण भएको हो।

सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणाबमोजिम वधशालालाई व्यवस्थित रूपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने उहाँले बताउनुभयो। वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ। विधेयकले पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी वध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजतपत्र लिनुपर्नेजस्ता व्यवस्था गरेको छ।

कानुनी हिसाबलेसमेत सहज हुने गरी वधशाला सञ्चालन हुने र यसले बुटवलवासीले स्वस्थ र स्वच्छ मासु उपभोग गर्न पाउने नगरप्रमुख पाण्डेयको भनाइ छ। बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्षसमेत रहेका रुपन्देही मासु व्यवसायी सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद पौडेलले बुटवल उपमहानगरपालिकासँग पशु वधशाला सञ्चालनका लागि देखिएका अन्योल टुङ्गिएको बताउनुभयो। वधशाला निर्माणका लागि २२ करोड १३ लाख ३५ हजारको ठेक्का सम्झौता भएको थियो।

वधशाला सञ्चालन र व्यवस्थापन गर्ने बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिले बुटवल उपमहानगरपालिकालाई वार्षिक ४७ लाख ३० हजार रुपियाँ बुझाउनेछ। दैनिक एक हजार खसीबोका वध गर्न मिल्ने गरी वधशाला बनाइएको छ। उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले वधशाला सञ्चालनमा आएपछि मासुको गुणस्तर र स्वच्छता नमुना हुने बताउनुभयो। वधशालामा करिब १२ हजार खसीबोका उत्पादक महिला किसान र ३०० जना मासु व्यवसायी सहभागी हुने बताइएको छ। रुपन्देहीमा दैनिक २०० खसीबोकाको मासु खपत हुँदै आएको छ।