• २४ वैशाख २०८१, सोमबार

निःशुल्क औषधि उपचार

blog

गाईघाट समाचारदाता

गाईघाट, वैशाख १७ गते । गाईघाटस्थित जिल्ला अस्पतालमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सात सयभन्दा बढी बिरामीलाई निःशुल्क औषधिसहितको उपचार सेवा दिइएको छ। 

बिएन्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल झापाको प्राविधिक सहयोग तथा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल र दाजुभाइ समूह दोहा कतारको सहकार्यमा त्रियुगा उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शिविरमा ७५० जना बिरामीलाई त्यस्तो सेवा दिइएको हो। शिविरमा क्यान्सर रोग, महिला तथा स्त्री रोग, भिडियो एक्स–रे, ल्याब, ईसीजी, नाक, कान, घाँटी, मुटु, फिजिसियन, न्युरो, हाडजोर्नी, छाला, दाँतसम्बन्धी समस्याको एकीकृत रूपमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिएको त्रियुगा उद्योग वाणिज्य सङ्घका अध्यक्ष रमेश रसाइलीले बताउनुभयो।

अस्पताल परिसरमा सञ्चालन गरिएको सो शिविरमा धेरै जनामा पाठेघर, आँखा, नाक, कान, घाँटी, पाठेघर, मुटुका बिरामी देखा परेकाले शल्यक्रिया गर्न चिकित्सकले सुझाव दिएको उहाँले बताउनुभयो। शिविरमा आएका बिरामीको शल्यक्रिया  तथा अन्य औषधि उपचारका लागि अस्पतालले २० प्रतिशत छुटको व्यवस्था गरेको अस्पतालका बजार व्यवस्थापक खोम घिमिरेले बताउनुभयो। 

“बिरामीलाई उपचारका लागि भनेका छाैँ अवसर लिने नलिने बिरामीकै कुरा हो,” उपचारमा आएका केही बिरामीको प्रारम्भिक अवस्था हेर्दा नै जटिल देखिएकाले थप उपचारका लागि सल्लाह दिएको न्युरो सर्जन डा. दिनेशकुमार थापाले बताउनुभयो।

जिल्लामा आयोजना गरिएको शिविर विशेषज्ञसहितको प्राविधिक जनशक्ति र सेवाग्राहीको हिसाबले अहिलेसम्मको यो नै सबैभन्दा ठूलो हो। डा. थापाको नेतृत्वमा आएको उक्त टोलीमा एक जना विदेशी चिकित्सकसहित नौ जना विशेषज्ञ गरी २१ जना स्वास्थ्य सेवाका प्राविधिक टोली रहेको सङ्घका महासचिव दिनेश श्रेष्ठले बताउनुभयो। शिविरको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख गौरबहादुर विकले आर्थिक अभावका कारण औषधि उपचार नगरी रोग लुकाएर बस्न बाध्य भएका बिरामीलाई स्वास्थ्य सेवामा पहुँच पु-याउन एक दिवसीय भए पनि यो शिविरले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्नुभयो।

त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले संविधानले व्यवस्था गरेको निःशुल्क स्वास्थ्य सेवालाई शिविरले सहयोग पु-याएको भन्दै त्रियुगा नपाको हाताभित्र रहेको जिल्ला अस्पताल अब्वल बन्दै गएकाले निर्धक्क भएर विशेषज्ञ सेवा लिन बिरामीलाई आग्रह गर्नुभयो।