• १३ मंसिर २०८१, बिहिबार

पशुमा फैलिँदै लम्पीस्किन सङ्क्रमण

blog

देउखुरी, वैशाख १७ गते । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय जिल्लाको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका  रोगको सङ्क्रमण बढेको जनाइएको छ । 

बङ्गलाचुली गाउँपालिकाको वडा नं. ४, ५, ६, ७  र ८ मा बढी मात्रामा  रोग सङ्क्रमण  देखापरेको छ । रोगका कारण बङ्गलाचुली–७ जबरकोटका टीकाराम नेपाली, जुद्धबहादुर नेपाली, वडा नं ८ पाँच पोखरीका तिलकराम घर्तीमगर र गोठीवनका गुमानसिंह घर्तीमगरका पशु चौपाया बिरामी परेका उपचारमा खटिनुभएका बङ्गलाचुली गाउँपालिकाका पशु शाखा प्रमुख गोविन्द नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाका करिब दुई सय ५० भन्दा बढी पशु चौपाया बिरामी परेका छन् ।

रोग लागेमा पशुका शरीरमा खटिरा आउने, खटिराबाट तरल पदार्थ बगिरहने, ज्वरो आउने, खुट्टा सुन्निने तथा लुलो हुने, दूध दिन छाड्ने समस्या हुने गरेको उहाँले बताउनुभयो । जिल्लास्थित पशु सेवा विज्ञ केन्द्रसँगको समन्वयमा बिरामी पशुको नमुना सङ्कलन  गरी क्षेत्रीय प्रयोगशाला सुर्खेत पठाएकामा त्यहाँबाट लम्पीस्किन पुष्टि भएको विज्ञ केन्द्रका भेटेरिनरी अधिकृत भरत देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार यसको थप अनुसन्धानका लागि काठमाडौँ नमुना पठाइएको बताउनुभयो ।

 राप्ती गाउँपालिकाको वडा नं ५, ७, ८ र ९ का विभिन्न बस्तीमा सो रोगले पशु थलिएका छन् । यहाँ तीन सय  ५० भन्दा बढी गाईगोरु बिरामी परेका पशु सेवा शाखा प्रमुख जीवराज पौडेलले बताउनुभयो । उहाँका अनुसार पशु प्राविधिकको टोलीले पालिकाको वडा नं ५ को करङ्गेकोट, थकरीकोट, वडा नं ९ को घोसखोला, देवीकोटलगायत स्थानमा एक साताभन्दा बढी समय लगाएर उपचार गरेको छ । अहिलेसम्म राप्ती गाउँपालिकाको रुपाकोट, घोसखोलालगायत स्थानमा पाँच पशु मरेका उहाँले जानकारी दिनुभयो ।

लम्पीस्किनका कारण राजपुर, लमहीलगायत ठाउँमा पनि समस्या बढ्दै गएको छ । “पहिले पहाडी क्षेत्रमा समस्या देखियो अब बिस्तारै तराईतिर सर्दै गएको छ, पशु सेवा विज्ञ केन्द्र प्रमुख सुदाम भट्टले भन्नुभयो, “लम्पीस्किन एक प्रकारको बिफरजस्तै रोग हो । भाइरसका कारण रोग लाग्ने भएकाले उपचार छैन । रोकथामको प्रयास गर्ने हो । सबैभन्दा महत्त्वपूर्ण कुरा सावधानी अपनाउनु नै हो ।”

“दाङमा प्रयोगशाला छैन, सुर्खेत पठाउनुपर्छ, अहिलेसम्म यसरी नै काम चलेको छ । उता पनि नभ्याउने भएपछि केन्द्रमा पठाउने गरिएको छ । यसले गर्दा पनि उपचारमा समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो, “यहाँ रोगले ग्रस्त बनाइसकेको हुन्छ, के भएको हो भन्ने थाहा पाउन लामो समय कुर्नुपरिरहेकाे छ ।”

घोराही उपमहानगरपालिका–१९ का पहाडी क्षेत्रमा पनि लम्पीस्किन रोगका कारण किसान समस्यामा परेका छन् भने पशुलाई सास्ती भएको छ । राप्ती गाउँपालिकाको पहाडी क्षेत्रमा देखिएको लम्पीस्किनको सङ्क्रमण वडा नं २, ३ र ४ मा पनि देखापरेको पशु सेवा शाखाले जनाएको छ । रासस