बनेपा समाचारदाता
काभ्रेपलाञ्चोक, वैशाख १७ गते । काभ्रेपलाञ्चोक जिल्लामा रहेको कुल घरपरिवारमध्ये २० दशमलव ६ प्रतिशत घरपरिवारमा महिलाको नाममा घर वा जग्गा वा घरजग्गा दुवै रहेको पाइएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लामा रहेको ९१ हजार ३३० कुल घरपरिवारमध्ये दुई हजार ८१ घरपरिवारमा महिलाको नाममा घर मात्रै रहेको, सात हजार ८६ घरपरिवारमा घर र जग्गा दुवै रहेको छ। यस्तै नौ हजार ६७७ घरपरिवारमा महिलाको नाममा जग्गा मात्रै रहेको, एक हजार १६ घरपरिवारको स्वामित्वको उल्लेख नभएको तथा जिल्लामा रहेका कुल घरपरिवारमध्ये ७१ हजार ४७० घरपरिवारमा महिलाको नाममा घर र जग्गा दुवै नभएको जनगणनाको तथ्याङ्कले देखाएको छ।
२०६८ को जनगणनाअनुसार काभ्रेपलाञ्चोक जिल्लामा घरपरिवारको सङ्ख्या ८० हजार ७२० रहेकोमा आठ हजार ४०३ घरपरिवारमा महिलाको नाममा घर मात्रै रहेको, १५ हजार ७८२ घरपरिवारमा महिलाको जग्गा मात्रै भएको तथा ५६ हजार ४३३ घरपरिवारमा महिलाको स्वामित्वमा घरजग्गा दुवै नभएको र १०२ परिवारको उल्लेख नभएको तथ्याङ्क थियो।
सरकारले महिलाको नाममा जग्गा पास गर्दा ग्रामीण क्षेत्रका महिलाका लागि ३० प्रतिशत र सहरी क्षेत्रका लागि २५ प्रतिशत राजस्वमा छुट दिने व्यवस्था गरेको छ। राजस्व छुटलगायतका कारण पछिल्लो समय काभ्रेपलाञ्चोकमा महिलाको नाममा घरजग्गा खरिद, बिक्री गर्ने क्रम बढेको छ।
बागमती प्रदेशमा रहेको १५ लाख ६७ हजार ९१७ घरपरिवारमध्ये ४७ हजार ९९५ घरपरिवारमा महिलाको नाममा घर मात्रै, एक लाख ४६ हजार ८८१ घरपरिवारमा महिलाको नाममा जग्गा मात्रै र एक लाख ९६ हजार ५६८ घरपरिवारमा महिलाको नाममा घरजग्गा दुवै रहेको देखाएको छ। यस्तै प्रदेशभित्रका ११ लाख ६२ हजार ८७७ घरपरिवारमा महिलाको नाममा घर र जग्गा दुवै नभएको र १४ हजार ९६ घरपरिवारको जग्गाको स्वामित्व उल्लेख नभएको पाइएको छ।