रमेश विश्वकर्मा
गुल्मी, वैशाख १६ गते । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले मुलुकको परिवर्तनका लागि नेपाली पत्रकारिता जगतले अग्रणी भूमिका खेलेको बताउनुभएको छ । शनिबार गुल्मीको सदरमुकाम तम्घासमा नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाको १० औँ वार्षिक साधारण सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
नेपालमा व्यवस्था परिवर्तन लेखेर मात्र होइन, भौतिक रूपमा उपस्थिति नै भएर लोकतन्त्र प्राप्तिका लागि नेपाली प्रेसले भूमिका निभाएको उहाँको भनाइ छ । विश्वले नै नेपाली पत्रकार र पत्रकारिता जगतलाई फरक आयामका रूपमा चिन्ने गरेको उहाँले बताउनुभयो । विकासका प्रक्रियामा पत्रकारितालाई जोड्न नसके राम्रो प्रतिफल नआउने बताउँदै भौतिक विकास, चेतना र राज्यले प्रदान गर्ने सेवामा पत्रकारिताको उपस्थितिले ज्यादै महत्त्व राख्ने चर्चा गर्नुभयो ।
उहाँले सञ्चार साक्षरताको आवश्यक औँल्याउँदै राज्यले प्रदान गर्ने सेवामा जनताको समान पहुँचका लागि पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । अध्यक्ष पोखरेलले पत्रकारले पस्केका सामग्रीप्रतिको विश्वसनीयता माथि पनि प्रश्न उठ्नेगरेकाले नैतिक धरातलमा उभिएर काम गर्न पत्रकारलाई निर्देशन समेत दिनुभयो । अध्यक्ष पोखरेलले महासङ्घका सदस्यहरूको शुद्धीकरणमा सहयोग गर्न पनि आग्रह गर्नुभयो ।