• १३ मंसिर २०८१, बिहिबार

वालकुमारी वन क्षेत्रको सरसफाइ

blog

सरसफाई गर्दै सहभागीहरु ।

गोरखापत्र अनलाइन

ललितपुर, वैशाख १६ गते । ललितपुर महानगरपालिका –१८ सैबु भन्ज्याङस्थित वालकुमारी सामुदायिक वन उपभोक्ता समूहले सल्ला वनक्षेत्रको शनिबार सरसफाइ कार्यक्रम आयोजना गरेको छ । डिभिजनल वन कार्यालय र मच्छिन्द्र सब-डिभिजनल वन कार्यालयको सहयोगमा आयोजना गरिएको सरसफाइ कार्यक्रममा दुई हेक्टर सल्लाको वनक्षेत्रको सफाइ गरिएको हो ।

सरसफाइ कार्यक्रममा डिभिजनल वन कार्यालयका प्रमुख रामकुमार भण्डारी, मच्छिन्द्र सब-डिभिजनल वन कार्यालयका प्रमुख अनुपा घिमिरे, वडा १८ का अध्यक्ष दामोदर खड्काको सहभागिता रहेको सरसफाइ कार्यक्रममा सो क्षेत्रको फोहोर व्यवस्थापन गर्न सहयोग गरिरहेको नेप्से म्याकले फोहोर ढुवानी र व्यवस्थापन गरेको छ । 

सफाइ कार्यक्रममा डिभिजनल वन कार्यालयका प्रमुख भण्डारीले महानगरक्षेत्रमा रहेको वालकुमारी वनक्षेत्रको संरक्षण गर्न आव्हान गर्नुभयो । उहाँले पर्यापर्यटन क्षेत्र विकासका लागि कार्यालयले सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई अक्सिजन दिएर बचाउने वनक्षेत्रको संरक्षण गर्नु हामी सबैको कर्तव्य र दायित्व हो ।” 

करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको सो वन क्षेत्रमध्ये शनिबार दुई हेक्टर क्षेत्रको  सरसफाइ गरिएको उहाँले बताउनुभयो । सफाइ कार्यक्रममा वडा अध्यक्ष दामोदर खड्काले ललितपुर महानगरपालिकाको गौरवको रूपमा रहेको वनक्षेत्रलाई संरक्षण गर्न वडाको दायित्व भएको बताउनुभयो ।

वालकुमारी सिर्जना क्लब, वालकुमारी आधारभूत विद्यालय, निर्मल, अस्मिता र श्रीकुल बोर्डिङ स्कुलका शिक्षक र विद्यार्थीको सहभागिता थियो । त्यस्तै, स्थानीय सिद्देश्वर र वत्सलादेवी महिला समूह, वालकुमारी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, विभिन्न गुठी, वालकुमारी क्लबका पूर्व अध्यक्षलगायतको उपस्थिति थियो ।  सरसफाइ कार्यक्रमबाट दुई ट्रक फोहोर सङ्कलन भएको वन समूहका अध्यक्ष किशोर कुँवरले जानकारी दिनुभयो ।