• १५ वैशाख २०८१, शनिबार

नेपालले दियो कुवेतलाई दुई सय ८२ रनको लक्ष्य

blog

कुवेतविरुद्ध ब्याटिङ गर्दै नेपालका खेलाडी । तस्बिर : विकास द्वारे

काठमाडौं, वैशाख १६ गते । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले कुवेतलाई जितको लागि दुई सय ८२ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४२ ओभरमा नौ विकेटको क्षतिमा दुई सय ८१ रन बनायो । नेपालले २३.२ ओभरमा तीन विकेट गुमाउँदै एक सय ४१ रन बनाउँदा पानी परेपछि खेल केही समय रोकिएको हो । 

पानीका कारण खेल आठ ओभर घटाइएको हो । पहिला पाँच ओभर घटाइएको खेल पानीका कारण फेरि तीन ओभर घटाइएको छ । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रन बनाउनुभयो । कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सोमपाल कामीले अविजित १३ रन बनाउनुभयो ।

यस्तै करण केसीले सात, सन्दीप लामिछाने पाँच र भीम सार्की एक रन जोड्दै पेभेलियन फर्किनुभयो । ललित राजवंशीले अविति दुई रन बनाउनुभयो । बलिङमा कुवेतका कप्तान मोहम्मद अस्लाम र अदनान इद्रेसले तीन तीन विकेट लिनुभयो । सयद मोनिव र यसिन पटेलले एक एक विकेट लिनुभयो । 

१० टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा अपराजित रहँदै विजेताको रूपमा सेमिफाइनलमा पुगेको हो । कुवेतले समूह ‘बी’ को उपविजेताको रूपमा नेपालसँगको भिडन्त पक्का गरेको थियो । 

प्रतियोगिताको उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाल सेमिफाइनलमा कुवेतलाई हराएर फाइनलमा स्थान बनाउने अभियानमा छ । नेपालका लागि कुवेत तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी हो । यसअघि दुई टोलीबीच तीन वटा भिडन्त भएको छ । जसमा नेपालले दुई र कुवेतले एक खेल जितेको छ । 

यस्तै मूलपानी मैदानमा अर्को सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई) भिड्दछन् । यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता दिएको छ । फाइनल खेल वैशाख १८ गते हुनेछ ।

सेमिफाइनलमा पराजित टोलीबीच वैशाख १७ गते तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

कुवेतविरुद्ध नेपाल-११ 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललित राजवंशी ।