• १४ मंसिर २०८१, शुक्रबार

बैङ्क तथा वित्तीय संस्था ‘नयाँ शोषक’को रूपमा उदाए : मन्त्री किराती

blog

होटल एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराती । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशाख १६ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैङ्क तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिनु भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरूले कम्प्युटर लिएर गाउँ जाने र त्यहाँका आमाहरूलाई ऋण दिएर डोरीमा पासो लगाउन बाध्य पार्ने थुप्रै कथाहरू रहेको मन्त्री किरातीको भनाइ थियो । होटल एसोसिएसन अफ नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै उहाँले छोराछोरीहरूलाई मोबाइल किन्न लिएको ऋण तिर्नका लागि गाउँले आमाहरूको घरखेत उठेको र पछि चिन्ताले डोरीमा पासो लगाउने स्थिति बनेको पनि उल्लेख गर्नुभयो ।

‘‘प्रकृति र संस्कृतिलाई जोगाउने किसिमको हाम्रो आजको विकासको नीति हुनु पर्‍यो । यसरी आम रूपमा विकास गरेर गएको पो नेपाल नयाँ हुन्छ । १२ कक्षा पढेपछि सबै विद्यार्थीहरू विदेश जान्छ । १२ कक्षा पढेपछि विद्यार्थीहरू किन जान्छ विदेश ? पैसा छैन । बैङ्कलाई लगाई दिन्छ । पछि मिटरमा ब्याज लिन्छ । फेरि उसले पैसा फर्काएर लान्छ ।,’’ उहाँले भन्नु भयो, ‘‘नयाँ शोषक आएको छ नि त कम्प्युटर बोकेर ।

महँगो ब्याज बोकेर, कम्प्युटर ठोकेर । पहिला त दौरासुरुवाल लगाएर जुँगामा ताउ लगाउँदै तमसुक बोकेर आउथे शोसक । अहिले त कम्प्युटर बोकेर पो आउँछ ।’’

मन्त्री किरातीले पहिले शोषकहरू दौरासुरुवाल लगाएर तमसुक बोकेर आउने गरेको र अहिलेको नयाँ शोषक भने कम्प्युटर लिएर गाउँ जाने गरेको बताउनुभयो । उहाँले सहरमा पनि बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज तिर्न नसकेर सर्वसाधारणले सास्ती व्यहोर्नु परेको स्मरण गराउनुभयो । मन्त्री किरातीले बैङ्क तथा वित्तीय संस्थाहरूको ब्याज घटाउन सक्ने अवस्था नरहेको पनि बताउनु भयो ।

मन्त्री किरातीले भन्नुभयो, ‘‘गाउँगाउँ पुगेको छ वित्तीय संस्थाहरू । आमाहरूलाई राखेर ऋण दिन्छ । बिचरा आमालाई छोराछोरीहरूले मोबाइल माग्छ । अनि, जमानी बसेर ऋण लिएर मोबाइल किनिदिन्छ । अर्को महिनादेखि तिर्नुपर्छ आयस्रोत छैन । अर्को महिनादेखि बाख्रा तानिन्छ । गाई तानिन्छ । थाल बोटुको टिपिन्छ । आमा चिन्ताले खोलामा गएर डोरी लगाएर पासो लाग्छ । यो कथा धेरै छ गाउँमा । सहरमा ब्याज छ ।  घटाउन सक्ने स्थिति पनि छैन ।’’

मन्त्री किरातीले प्रकृति र संस्कृतिलाई जोगाउने खालको विकास नीतिको आवश्यकता पनि औँल्याउनुभयो । उहाँले होटल व्यवसाय पर्यटनको मेरुदण्ड भएको उल्लेख गर्नुहुँदै त्यस क्षेत्रको विकासमा सरकारले सकेको सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।