• १३ मंसिर २०८१, बिहिबार

दुई हजार हेक्टर वन क्षेत्रमा आगलागी

blog

लीलाधर वली 

घोराही, वैशाख १६ गते। मानवीय लापरबाहीले गर्दा दाङमा बर्सेनि हजारौँ हेक्टर वन जङ्गल डढेलोका कारण खरानी हुने गरेको छ। 

दाङमा करिब एक महिनाको अवधिमा दुई हजार हेक्टर वनमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय घोराहीअन्तर्गत २४ र डिभिजन वन कार्यालय लमहीअन्तर्गतका २७ भन्दा बढी सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिसकेको छ। जसले गर्दा दाङ क्षेत्रमा ६३३ हेक्टर र देउखरी क्षेत्रमा एक हजार ४०० भन्दा बढी हेक्टर वन डढेलो लागेको छ। यसको जोखिम अझ बढ्ने देखिएको छ। 

गत वर्ष दाङमा ६५ स्थानमा डढेलो लागेको थियो। डिभिजन वन कार्यालय घोराही र डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार जिल्लामा गत वर्ष मात्रै तीन हजार १७० हेक्टर क्षेत्रमा डढेलो लागेको थियो।

गर्मी मौसम सुरु भएसँगै जिल्लामा सामुदायिक तथा राष्ट्रिय वनहरूमा आगो लगाउने कार्य बढेको छ। जसका कारण दिनहुँ जङ्गलमा आगलागीका घटना बढेका छन्। डिभिजन वन कार्यालय घोराहीका अनुसार करिब फागुन १५ गतेदेखि हालसम्म जिल्लामा २४ भन्दा बढी सामुदायिक र राष्ट्रिय वनको विभिन्न ठाउँमा आगलागी हुँदा ठूलो मात्रामा क्षति भएको डिभिजन वन कार्यालय घोराहीका सहायक वन अधिकृत खिमबहादुर केसीले जानकारी दिनुभयो। 

उहाँका अनुसार आगलागीका कारण जङ्गलमा भएका काठदाउरा, बोटबिरुवासँगै पशुपन्छीको बासस्थानमा क्षति पुगेको छ। यस वर्ष बर्सात नहुँदासमेत आगलागीका घटना बढेको उहाँ बताउनुहुन्छ।  डढेलो नियन्त्रणका लागि वन समूहले सचेतनामूलक कार्यक्रमहरू गरे पनि कार्यक्रमहरू प्रभावकारी हुन नसकेको उहाँले बताउनुभयो। 

केसीका अनुसार जिल्लामा ७० प्रतिशत वन जङ्गलमा आगलागीका घटना नियतवश हुने गरेका छन्। 

सहायक वन अधिकृत केसीले भन्नुभयो, “जङ्गलमा आगलागी गराउनुहुन्न भन्ने ज्ञान हुन्छ तर जङ्गल सफा गराउने, जङ्गली जनावरको सिकार गर्ने, च्याउ उत्पादन बढी हुने, सर्पको टोकाइबाट बच्ने आशमा जङ्गलमा आगो लगाउने गरेको पाइन्छ।  वन डढेलो नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रमहरू सञ्चालन गरिए पनि  खासै प्रभावकारी हुन सकेका छैनन् भने धेरैजसो घटना मानवीय लापरबाहीका कारण आगलागी हुने गरेका छन्। 

जिल्लामा घोराही र तुलसीपुर क्षेत्रको तुलनामा देउखुरी क्षेत्रका वनमा बढी आगलागीका घटना भएको डिभिजन वन कार्यालय लमहीका प्रमुख राजु क्षेत्री बताउनुहुन्छ। उहाँका अनुसार देउखुरी क्षेत्रमा आगलागीका कारण ठूलो मात्रामा क्षति भएको छ।  डिभिजन प्रमुख क्षेत्रीले भन्नुभयो, “आगलागीका कारण वन क्षेत्रमा स–साना बोटबिरुवासँगै सुकेका र ढलेका ठूलो मात्रामा काठ नष्ट भएको छ। डढेलो नियन्त्रणका लागि प्रयास गर्दा पनि मानवीय लापरबाहीका कारण ठूलो क्षति हुन पुगेको छ।”

आगलागी नियन्त्रणका लागि सचेतनासँगै समूह निर्माण, वन क्षेत्रमा अग्नि रेखा बनाउनेलगायतका काम गरे पनि लामो समयसम्म वर्षा नहुँदा धेरै क्षति हुन पुगेको उहाँले जानकारी दिनुभयो। दाङमा विगत सात वर्षमा ४२ हजार ६१९ दशमलव पाँच हेक्टर वन क्षेत्रमा आगलागी भएको छ।