• २० पुस २०८१, शनिबार

टमाटरले उचित मूल्य पाएन

blog

बाँके समाचारदाता

बाँके, वैशाख १६ गते । बाँकेको खजुरा गाउँपालिका–२, ‘ए’ गाउँका अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरि टमाटर छ भने गोदाममा पनि टिपेको टमाटर राखिएको छ तर बजार मूल्य नपाएपछि खत्रीले बारीमा टमाटर फालेर विरोध जनाउनुभएको छ । 

“बारीमा करिब ३५० क्विन्टल टिप्नलायक टमाटर छ,” खत्रीले भन्नुभयो, “घरको गोदाममा २०/२५ क्विन्टल टमाटर छ । बिक्री नभएपछि बारीमा फाल्न बाध्य भएका छौँ, टमाटरको मूल्य नपाए पनि खेतबारीमा मल त होला भनेर बारीमा टमाटर फाल्न बाध्य भएका हौँ ।” खत्रीले करिब तीन बिघा जमिनमा तरकारी खेती गर्नुभएको छ । जसमध्ये यस समयमा अधिकांश टमाटर लगाइएको छ । खत्रीसहित सीतापुरका अन्य किसानको पीडा पनि उस्तै रहेको छ । 

भारतबाट भित्रिने विषादीयुक्त तरकारीका कारण स्थानीय उत्पादनले बजार र मूल्य नपाएको भन्दै खत्रीले स्थानीय सरकारले समन्वय नगरेको बताउनुभयो । लागत मूल्यसमेत नआउने गरी प्रतिकिलो टमाटर १०/१२ रुपियाँमा समेत बिक्री नभएको खत्रीको भनाइ छ । यसबाट लागत उत्पादनसमेत नउठ्ने खत्रीको भनाइ छ ।