• २० वैशाख २०८१, बिहिबार

नेपाल र कुवेतबीचको सेमिफाइनल कीर्तिपुरमा

blog

फाइल तस्बिर ।

काठमाडौं, वैशाख १५ गते । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

अपराजित रहँदै समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

प्रतियोगिताको उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाल सेमिफाइनलमा कुवेतलाई हराएर फाइनलमा स्थान बनाउने अभियानमा छ । नेपाल र कुवेतबीचको खेल बिहान ९:०० बजे त्रिवि मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

नेपालका लागि कुवेत तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी हो । यसअघि दुई टोलीबीच तीन वटा भिडन्त भएको छ । जसमा नेपालले दुई र कुवेतले एक खेल जितेको छ । 

यस्तै मूलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई) भिड्नेछन् । यस खेललाई एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता दिइने भएको छ । फाइनल खेल वैशाख १८ गते हुनेछ ।

सेमिफाइनलमा पराजित टोलीबीच वैशाख १७ गते तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।