• ७ वैशाख २०८१, शुक्रबार

नेपाल र कुवेतबीचको सेमिफाइनल कीर्तिपुरमा

blog

नेपाली क्रिकेट टोली । तस्बिर : क्यान

काठमाडौं, वैशाख १५ गते । एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा शनिबार नेपालले कुवेतसँग प्रतिस्पर्धा गर्दैछ ।

अपराजित रहँदै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले समूह ‘बी’ को उपविजेता कुवेतसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

प्रतियोगिताको उपाधि चुम्ने लक्ष्यमा रहेको नेपाल सेमिफाइनलमा कुवेतलाई हराएर फाइनलमा स्थान बनाउने अभियानमा छ । नेपाल र कुवेतबीचको खेल बिहान ९:०० बजे त्रिवि मैदान कीीर्तपुरमा सुरु हुनेछ ।

नेपालका लागि कुवेत तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी हो । यसअघि दुई टोलीबीच तीन वटा भिडन्त भएको छ । जसमा नेपालले दुई र कुवेतले एक खेल जितेको छ । 

यस्तै मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ‘ए’ को उपविजेता ओमान र समूह ‘बी’ को विजेता संयुक्त अरब इमिरेट्स (युएई) भिड्नेछन् । यस खेललाई एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) मान्यता दिईने भएको छ । फाइनल खेल वैशाख १८ गते हुनेछ ।

सेमिफाइनलमा पराजित टोलीबीच वैशाख १७ गते तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।