• १३ असोज २०८१, आइतबार

अध्यक्षमाथि आक्रमण हुँदा सरकार मौन बसेको भन्दै विष्णु पौडेलको आक्रोश

blog

प्रतिनिधि सभाको बैठकमा धारणा राख्नुहुँदै सांसद विष्णुप्रसाद पौडेल।

काठमाडौं, वैशाख १५ गते। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम् सांसद विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा सरकार मौन रहेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ।

उपाध्यक्ष पौडेलले बिहीबार इलामको कार्यक्रमबाट फर्कने क्रममा पनि अध्यक्ष ओलीसहितका नेतालाई एम्बुस थापेर आक्रमणको प्रयास गरिएको भन्दै आपत्ति जनाउनु भएको हो। उहाँले सत्तापक्षकै कार्यकर्ता आक्रमणको घटनामा सामेल भइरहेको सूचना आफ्नो पार्टीले पाएको जिकिर गर्दै यथार्थ जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग माग गर्नुभयो। 

उपाध्यक्ष पौडेलले अध्यक्ष ओलीमाथि आक्रमण प्रयास गर्नेलाई कडा कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो। उहाँले सरकारले शान्ति सुरक्षाको व्यवस्था गर्न लाचारी र कायरता प्रदर्शन गरिरहेको भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिनुभयो। 

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘‘हिजो इलामको पशुपति नगरबाट फर्कने क्रममा बाटोमा एम्बुस थापेर हाम्रा पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीसहितका नेतामाथि एम्बुस थापेर आक्रमण गर्ने, आज पनि खुलेआम विरोध प्रदर्शन गर्दै तोडफोड गर्ने काम भइरहेको छ। यस्तो अवस्थामा सभामुख महोदय, हाम्रो देशमा सरकार छ कि छैन ? यो अत्यन्तै चिन्ताको विषय हो कि सरकारले अकर्मण्यता प्रदर्शन गरिरहेको छ। एक प्रकारले भन्ने हो लाचारीपन प्रदर्शित गरिरहेको छ। म यो कायरताको, लाचारीपनको घोर निन्दा र भर्त्सना गर्न चाहन्छु। खेद व्यक्त गर्न चाहन्छु।’’ 

सांसद पौडेलले सदनमा यो विषय उठिसकेपछि गृहमन्त्रीले जवाफ दिएर मात्र नहुने भन्दै प्रधानमन्त्रीसँग जवाफ माग गर्नुभयो। गृहमन्त्रीले जवाफ दिएपछि पनि आक्रमण नरोकिएको भन्दै उहाँले प्रधानमन्त्रीको जवाफ माग गर्नुभएको हो। उहाँले नागरिकको सुरक्षाको सुनिश्चितता गर्नुपर्नेमा  जोड दिनुभएको छ। 

पौडेलले भन्नुभयो, ‘‘सभामुख महोदय, यो आक्रमणमा सरकार आफै संलग्न भएको छ। यो विषय सम्मानित सदन उठ्यो। गृहमन्त्रीले आएर जवाफ पनि दिनुभयो। गृहमन्त्रीले जवाफ त दिनुभयो। तर आक्रमण प्रयास रोकिँदैन। यो सरकारले चाहेको के हो ? हामीले गृहमन्त्रीको कुनै मिठो प्रवचन होइन। शान्ति सुरक्षाको व्यवस्था हुनुपर्छ भनेका छौँ। यहाँले नेताको मात्रै होइन, आज नागरिकको शान्ति सुरक्षाको सुनिश्चित गर्नुपर्छ। गृहमन्त्रीले दिएको जवाफले अब पुगेन। यस प्रश्नमा सरकार सदनलाई जानकारी दिनुपर्छ । सम्माननीय प्रधानमन्त्री आफैँले आएर संसद्मा जवाफ दिनुपर्छ।’’

उपाध्यक्ष पौडेलले सरकारलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन पनि खबरदारी गर्नुभयो।