काठमाडौं, वैशाख १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताउनुभएको छ ।
सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै वर्तमान सरकारलाई रास्वपाले दिएको समर्थन फिर्ता लिन सक्ने बताउनुभएको हो । उहाँले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको जानकारी दिनुभयो । उहाँले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समिक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।
‘‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्त्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ ।,’’ सभापति लामिछानेले भन्नुभयो, ‘‘त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो । त्यसमा हाम्रो गम्भीर भन्दापनि गम्भीर आपत्ति छ । किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसदमा पठाएको होइन । निश्चित एजेण्डासहित एउटा म्याण्डेड दिएर पठाएको हो । जुन वाचा गरेर हामी आएका थियौँ अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । यसमा गम्भीर समिक्षा गरेर मात्रै अगाडि बढ्छौँ ।’’
सभापति लामिछानेले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । आज सभामुख देवराज घिमिरेले चितवन २ बाट सांसदमा निर्वाचित रास्वपा सभापति रवि लामिछाने र रास्वपाबाटै तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।