• २६ पुस २०८१, शुक्रबार

अधिकांश सडक भासिँदै

blog

बाँके समाचारदाता

बाँके, वैशाख १५ गते । बाँकेमा स्थानीय सरकारले निर्माण गरेका अधिकांश कालोपत्रे सडक भत्किएका छन्। वार्षिक बजेटको ठूलो हिस्सा कालोपत्रे सडकमा खर्च गर्ने गरे पनि त्यो टिकाउ र गुणस्तरीय हुन नसकेको स्थानीयको गुनासो छ। नेपालगञ्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकामा यस्तो खालको समस्या कम देखिए पनि अन्य स्थानीय तहमा भने अधिकांश सडक भत्किएर आवातजावतमा समस्या परिरहेको अवस्था छ। 

खजुरा इगाउँका गोविन्द खत्रीले कालोपत्रे गरिएको सडकमा बढी भार क्षमताका टिप्पर, ट्याक्टर चल्दा सडक भाँसिएको बताउनुभयो। खजुराको इगाउँ, डिगाउँ जोड्ने सडक केही दिनयता टिप्पर लगातार चल्न थालेपछि खेतबारी जोतेझँै भएको गुनासो व्यक्त गर्नुभयो। खजुरा गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अर्जुन सुवेदीले स्थानीय सरकारले निर्माण गरेको सडकको भारवहन क्षमता कमजोर हुने बताउनुभयो। सडकले १२–१५ टन क्षमतासम्म थेग्न सक्छ। तर ४०–५० टन क्षमताका सवारीसाधन गुडेपछि सडक भाँसिने समस्या भएको उहाँले बताउनुभयो। उहाँले खजुरामा पछिल्लो पटक सडक भाँसिएको विषयमा आफूहरू गम्भीर भएको भन्दै सम्बद्ध निर्माण व्यवसायीलाई जवाफदेही बनाउने बताउनुभयो। 

लामो समयमा स्थानीय तहमा काम गर्नुभएका इन्जिनियर कञ्चन तिवारीले स्थानीय तहमा सडक निर्माणका लागि छुट्याइएको बजेट न्यून हुने भएकाले सडक गुणस्तरीय बन्न नसकेको बताउनुहुन्छ। ग्रामीण सडकको मापदण्डअनुसार पनि बढी भारवहन क्षमताका सवारीसाधन चल्दा सडक भाँसिने गरेको उहाँको भनाइ छ। उहाँले सडक बिग्रनुमा निर्माण व्यवसायीले अत्यन्त कममा बोलकबोल गर्ने, प्राविधिक कमजोरी र कतिपय अवस्थामा अनुगमनको समेत कमी रहेको बताउनुभयो।