• १९ असार २०८१, बुधबार

पूर्व प्रधानमन्त्री ओलीद्वारा सीमा क्षेत्रको निरीक्षण

blog

पशुपतिनगरमा भारततर्फबाट दशगजा मिचेर खडा गरिएको सुरक्षा पोष्टको निरीक्षण गर्नुहुँदै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः कोकिला ढकाल।

कोकिला ढकाल

इलाम, वैशाख १३ गते। नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार इलामको पशुपतिनगरस्थित नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुभएको छ। सीमा निरीक्षणका क्रममा ओलीले दशगजा क्षेत्र मिचेर वर्षौंदेखि सुरक्षा पोष्ट राखिएको प्रमाणित भएको बताउनुभयो। 

निरीक्षणपछि सञ्चारकर्मीसँग ओलीले नेपालको पूर्वी सिमानालाई हेर्दा भारतको हेपाह प्रवृत्ति स्पष्ट देखिएको बताउनुभयो। ‘‘भारतजस्तो मित्र राष्ट्रले सीमा क्षेत्रमा आफ्नो छाती खुला बनाउनु पर्ने हो, विशाल राख्नु पर्ने हो, मित्रवत व्यवहार गर्नुपर्ने हो तर त्यस्तो देखिँदैन।’’

उहाँले भारतले आफ्नो गल्ती सच्याउनुपर्नेमा जोड दिनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘‘म भारत सरकारलाई आग्रह गर्छु, भारत सरकारले आफ्नो यो मिचाइको गल्ती सच्याउनुपर्छ। नेपाललाई छिमेकी मुलुकले यसरी हेपाह प्रवृत्ति देखाउनु हामीलाई राम्रो लाग्दैन।’’ 

बिहीबार इलाममा आयोजना हुने पार्टीको प्रतिनिधि परिषद् बैठकका लागि अध्यक्ष ओली बुधबार इलाम आइपुग्नु भएको हो।