• ७ वैशाख २०८१, शुक्रबार

साउदीलाई हराउँदै ओमान सेमिफाइनलमा

blog

बुधबारको खेलमा प्रतिस्पर्धा गर्दै ओमान र साउदीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, वैशाख १३ गते । ओमान एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदान कीर्तिपुरमा बुधबार भएको खेलमा ओमानले साउदी अरबलाई ७२ रनले हरायो । 

जितका लागि ओमानले दिएको तीन सय ६७ रनको लक्ष्य पछ्याएको साउदी ४६.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ९४ रनमा समेटिएको थियो ।

साउदीका लागि ओपनर अब्दुल वाहिद र साद खानले अर्धशतकीय रन बनाउनुभयो । वाहिदले ९५  र खानले ७८ रन बनाउनुभयो । कप्तान हिशाम शेखले ३४ र अब्दुल वाहिदले २५ रन बनाउनुभयो । 

बलिङमा ओमानका बिलाल खानले चार विकेट लिनुभयो । जय ओडिराले तीन तथा जिशान मक्शुदले दुई विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा तीन सय ६६ रन बनाएको थियो । 

ओमानका लागि सुरुवाती पाँच ब्याट्सम्यानले अर्धशतक बनाउनुभयो । ओपनर कश्यप प्रजापतिले ५१ र जतिन्दर सिंहले ८८ रन बनाउनुभयो ।

यस्तै सोयब खानले ६८, कप्तान जिशान मक्शुदले ५४ र मोहम्मद नदिमले अविजित ७१ रन बनाउनुभयो । आयान खानले अविजित १२ रन जोड्नुभयो ।

बलिङमा साउदीका अतिफ उर रेहमानले तीन विकेट लिनुभयो । अब्दुल वाहिदले दुई तथा ब्दुल वाइद एक विकेट लिनुभयो । 

जितसँगै ओमानले समूह ‘ए’ बाट सेमिफाइनलमा स्थान बनाएको हो । समूहमा चार खेलबाट ६ अङ्क बनाएको ओमान तालिकाको शीर्षस्थानमा छ ।

यसअघिनै सेमिफाइनलमा पुगेको नेपालको तीन खेलबाट पाँच अङ्क छ । बिहीबार नेपाल र कतारबीचको खेलपछि समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।

समूहको अन्तिम खेलमा नेपालले कतारलाई हराएमा नेपाल समूह विजेता बन्नेछ । समूह ‘ए’ बाट मलेसिया, साउदी अरब कतार बाहिरिएका छन् ।