• २८ मङ्सिर २०८२, आइतबार

बढे आँखाका रोगी

blog

महोत्तरी समाचारदाता

महोत्तरी, वैशाख १३ गते । महोत्तरी जिल्लामा आँखाका रोगी दिनप्रतिदिन बढ्दै गएका छन्। गरिबी, जनचेतनाको अभाव, धुलो, धुवाँ र मानिसको आफ्नो सानो हेलचेक्य्राइँका कारण अन्धोपन बढेको नेपाल रेडक्रस सोसाइटीद्वारा यहाँ सञ्चालित आँखा तथा कान उपचार केन्द्रका चिकित्सक डा. वीरेन्द्रकुमार यादवले बताउनुभयो।

सीबीएमको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति सङ्घ सगरमाथा चौधरी आँखा अस्पताल, लहानको सहयोगमा जिल्लाका सात ठाउँमा गरिएको आँखा जाँच शिविरमा करिब २८ प्रतिशतभन्दा बढीमा मोतीबिन्दु फेला परेको जानकारी उहाँले दिनुभयो। दुर्गा मावि मनरासिसवा, मडई स्वास्थ्य चौकी भवन, एकडाराको चकवा मावि, पिपराको जनता अस्पताल, मटिहानी नगरपालिकाको धिरापुर, जलेश्वरको पर्सापतैलीलगायतमा शिविर आयोजना गरिएको हो।

शिविरमा चाँच गराउन आउने आँखाका एक हजार ३९३ बिरामीमध्ये ३९३ जनामा मोतीबिन्दु फेला परेको बताउँदै डा. यादवले भन्नुभयो, “मोतीबिन्दु फेला परेकामध्ये २२१ जनालाई जलेश्वरमै सफल शल्यक्रिया गरिसकिएको र अन्यको जारी छ।” नेपाल रेडक्रसका अध्यक्ष दीपक मिश्रले भन्नुभयो, “जथाभावी धुलो, धुवाँ तथा घाममा हिँड्दा पनि आँखाको हेरचाह नगरेकै कारण मोतीबिन्दुका बिरामी बढेका छन्। यसको न्यूनीकरणका लागि स्थानीय पालिकाहरूले जनचेतनामूलक कार्यक्रम गर्न जरुरी छ।”

जलेश्वरमै सुविधासम्पन्न शल्यक्रिया कक्ष तथा बिरामी राख्ने कोठाहरू निर्माण गरिएको बताउँदै उहाँले आँखा चेकजाँचका लागि यस क्षेत्रका बासिन्दा बाहिर जानुपर्ने अवस्था अन्त्य भएको बताउनुभयो। मोतीबिन्दुका बिरामीको शल्यक्रियामा खटिएका सगरमाथा आँखा अस्पताल, लहानका डा. विवेक आचार्यले आँखा रोगीको सुविधालाई ध्यानमा राखेर जलेश्वरमै सुविधासम्पन्न शल्यक्रिया कक्ष निर्माण गरिएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले अब आँखा रोगीलाई लहान नै पुग्नुपर्ने बाध्यता नरहेको बताउनुभयो।