• २७ पुस २०८१, शनिबार

बुद्धिचाल खेलाडी रुपेश र सुजनालाई मासिक तलब

blog

बुद्धिचाल खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने सम्बन्धी प्रायोजन सम्झौता गरिँदै । तस्बिर : गोरखापत्र

काठमाडौं, वैशाख १२ गते । नेपाल बुद्धिचालम हासंघले बुद्धिचालमा च्याम्पियनद्वय रुपेश जैसवाल र सुजना लोहनीलाई मासिक १० हजार रुपियाँ तलब भत्ता उपलब्ध गराउने भएको छ ।

दुवै फिडेमास्टर रुपेश र सुजनालाई महासङ्घले पहिलो पटक मासिक भत्ता उपलब्ध गराउन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

बुद्धिचाल खेलको इतिहासमा खेलाडीले मासिक भत्ता पाउन लागेको यो पहिलो पटक हो । यसअघि फुटबल र क्रिकेटका खेलाडीले यस्तो भत्ता पाउँदै आएका छन् । 

महासङ्घले राष्ट्रिय च्याम्पियन खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउनका लागि दाना उत्पादक कम्पनी सागर फिड्ससँग सम्झौता समेत गरेको छ ।

सम्झौता पत्रमा महासङ्घका अध्यक्ष विदुरप्रसाद गौतम र सागर फिड्सका प्रबन्ध निर्देशक ज्ञानेन्द्र पराजुलीले हस्ताक्षर गर्नुभयो ।

सम्झौतासँगै सागर फिड्सले महासङ्घलाई वार्षिक दुई लाख ४० हजार रुपियाँ उपलब्ध गराउने छ । जसबाट खेलाडीलाई भत्ता उपलब्ध हुनेछ । महासङ्घका अध्यक्ष गौतमले खेलाडीलाई प्रोत्साहन स्वरूप मासिक भत्ताको काम सुरु गरिएको बताउनुभयो ।

सागर फिड्सका प्रबन्ध निर्देशक पराजुलीले खेलाडीलाई खेलाडीलाई व्यावसायिक बनाउन सहयोग गरेको प्रतिक्रिया दिनुभयो । खेलाडीद्वय रुपेश र सुजनाले मासिक भत्ताले खेलमा अझै राम्रो गर्न प्रोत्साहन मिलेको बताउनुभयो ।