• २ असार २०८१, आइतबार

क्रिकेटमा फड्को

blog

तेह्रौँ संस्करणको एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आगामी अक्टोबर–नोभेम्बरमा भारतमा आयोजना हुँदै छ । यसअघि सन् १९८७, १९९६ र २०११ मा दक्षिण एसियाका देशहरूसँग मिलेर भारतले विश्वकपको आयोजना गरेको थियो । 

खासगरी यो विश्वकप गत फेब्रुअरी ९ देखि २६ मार्चसम्म आयोजना हुनुपर्ने थियो तर कोभिड सर्वमहामारीका कारण छनोट चरण सर्न पुग्यो । विश्वकपको फाइनल चरणमा १० टिमले सहभागिता जनाउँदै छन् । विश्वकपमा आयोजक राष्ट्र तथा सन् २०२० जुलाई ३० देखि सन् २०२३ मे ३१ सम्म सञ्चालन गरिने आईसीसी क्रिकेट विश्वकप सुपर लिगबाट छानिएका सात टिम र आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बाब्वेमा हुने विश्वकप क्वालिफायरबाट छानिएका दुई टिम गरी १० टिमले खेल्ने छन् । 

सुपर लिगमा १३ टिम रहेकोमा आयोजक भारत, गत विजेता इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, बङ्गलादेश, पाकिस्तान, अस्ट्रेलिया, अफगानिस्तान र दक्षिण अफ्रिका छनोट भइसकेका छन् । बाँकी पाँच टिम वेस्टइन्डिज, श्रीलङ्का, आयरल्यान्ड, जिम्बाब्वे र नेदरल्यान्ड्सले जिम्बाब्वेमा हुने क्वालिफायर खेल्नुपर्ने छ ।  

क्वालिफायरमा १० टिम हुने छन् । जसमा पाँच टिम सुपर लिगबाट, तीन टिम आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट र बाँकी दुई टिम क्वालिफायर प्लेअफबाट आउने छन् । विश्वकप लिग–२ बाट स्कटल्यान्ड, ओमान र नेपाल छानिएका छन् । क्वालिफायर्स प्लेअफबाट दुई टिम आएसँगै विश्वकप छनोट खेल्न सुरु हुनेछ । 

क्वालिफायरका खेलहरू जुन १८ जुनदेखि जुलाई ९ सम्म सञ्चालन गरिनेछ । १० टिममध्ये शीर्ष दुई टिम मात्र विश्वकपमा पुग्ने छन् । १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ । समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन् । अनि सुपर सिक्समा भिडन्तपछि शीर्ष दुई टिमले भारत जाने टिकट पाउने छन् । 

नेपालको सम्भावना

नेपाल अहिले विश्वकप छनोट (क्वालिफायर)मा पुगेको छ । नेपालले विश्वकप लिग–२ का पछिल्ला १२ मध्ये ११ खेल जितेको छ । लिग–२ मा तेस्रो स्थानमा रहेर नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो । तेस्रो स्थानमा रहेसँगै विश्वकप एक दिवसीय मान्यतासमेत जोगाउन नेपाल सफल भएको छ । 

अब नेपालले सुपर लिग खेलेका पाँच टिमसँग भिडन्त गर्नुपर्नेछ । जुन कडा चुनौती हो । टेस्ट मान्यताप्राप्त टिमहरूसँग खेल्नु कम चुनौती हैन । विश्वकप जितिसकेका वेस्ट इन्डिज र श्रीलङ्काजस्ता टिमसँगै पटकपटक विश्वकप खेलेका दक्षिण अफ्रिका, जिम्बाब्वे, आयरल्यान्ड र नेदरल्यान्ड्ससँग खेल्नु पनि चुनौती नै हुनेछ । 

नेपालले विश्वकप लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जितेको श्रेय केही हदसम्म प्रशिक्षक मोन्टी देसाईलाई जान्छ । उनी आउनुअघि नेपालले एक दिवसीय मान्यता गुमाउने अवस्था सिर्जना भएको थियो ।

मोन्टीले खेलाडीहरूको कौशल र क्षमतालाई गम्भीर रूपमा विश्लेषण गरे । अनि खेलाडीलाई क्षमताअनुसार भूमिका समेत दिए, प्रोत्साहित गरे । खेलाडीहरूको शानदार प्रदर्शनको प्रभाव नै होला नेपाल सरकारले क्रिकेटमा लगानी गर्ने भएको छ ।

चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्वामित्व सरकारले लिएर निर्माण कार्य पूरा गर्ने भएको छ । 

फुटबलको दुनियाँ

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता चलिरहँदा एउटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता र मोफसलमा थुप्रै नकआउट प्रतियोगिता भएका छन् । 

थ्री नेसन्स कप नेपाललाई

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो । फाइनल खेलमा नेपालले लाओसलाई २–१ ले पराजित गरेको थियो । सन् २०२१ मा भएको पहिलो संस्करणको विजेता पनि नेपाल नै हो । त्यतिबेला बङ्गलादेश र किर्गिस्तानको यू–२३ टिम प्रतिस्पर्धामा थिए । 

यस पटक लिग चरणको खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो भने भुटानसँगको खेल ३९ वर्षपछि पहिलो पटक बराबर भयोे । 

लिग चरणमा हारेको भुटानले फाइनलमा अग्रता लियो । त्यसपछि आयुष घलान र मनिष डाँगीले एक एक गोल गर्दै नेपाललाई जित दिलाए तर फिफाको क्यालेन्डरमा नपरेकाले यस प्रतियोगिताले अन्तर्राष्ट्रिय मान्यता पाएन ।  

मनाङ मस्र्याङ्दी विजयी

तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको बुटवलमा भएको २२औँ संस्करणको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । बुटवलको एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको फाइनल खेलमा सुदूरपश्चिम–११ लाई सडनडेथमा मनाङ मस्र्याङ्दीले ८–७ ले पराजित गरेको थियो । 

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । 

विराट गोल्डकप विराटनगरलाई

आयोजक विराटनगर सिटीले सातौँ विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शहीद मैदानमा भएको फाइनल खेलमा भारतको केरलाको लुका सकर क्लबलाई विराटनगरले ४–० ले पराजित गरेको थियो । यो घरेलु टिमको छ दशकपछि पहिलो ट्रफी भएको छ । 

विराटनगरले यसअघि २०१९ सालमा तत्कालीन महेन्द्र गोल्डकपको दोस्रो संस्करण यही मैदानमा जितेको थियो । विराटनगरलाई ऐतिहासिक जित दिलाउने क्रममा विमल घर्तीमगर, अफिज ओलवाले, मुसाका र अभिषेक गुरुङले एक–एक गोल गरेका थिए । 

महेन्द्र गोल्डकपका नाममा २९ पटक आयोजना गरिएको यो प्रतियोगिता २०६८ सालदेखि विराट गोल्डकपका नाममा आयोजना हुन थालेको छ ।

इटहरी गोल्डकप सगरमाथालाई १३औँ संस्करणको इटहरी गोल्डकप फुटबलको उपाधि सगरमाथा युथ क्लब, मोरङले जितेको छ । 

इटहरी रङ्गशालामा भएको फाइनल खेलमा नवप्रवेशी ‘ए’ डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडलाई पेनाल्टी सुटआउटमा सगरमाथाले ६–५ ले पराजित गरेको थियो । 

सगरमाथाको यो लगातार दोस्रो उपाधि भएको छ । थ्री स्टारलाई खप्तड गोल्डकप खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टार क्लबले जितेको छ । 

धनगढी रङ्गशालामा चैत १८ गते भएको फाइनल खेलमा गत संस्करणको विजेता मनाङ मस्र्याङ्दी क्लबलाई थ्री स्टारले २–० ले पराजित गरेको थियो ।