• ६ जेठ २०८१, आइतबार

फ्लाई दुबईको जहाज ठूलो दुर्घटनाबाट जोगियो

blog

काठमाडौँ, वैशाख १२ गते । त्रिभुवन विमास्थलबाट दुबईका लागि उडान भरेको फ्लाई दुबईको कलसाइन एफजेड ५७६ जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ। 

सात जना चालक दलका सदस्यसहित १७५ जना यात्रु बोकेर सोमबार राति ९:२० मा त्रिभुवन विमानस्थलबाट उडान भरेको केहीबेरमै पाइलटले जहाजको दायाँ इन्जिनमा समस्या आएको विमानस्थल टावरलाई जानकारी गराएका थिए। सामाजिक सञ्जालमा जहाजको इन्जिनमा आगो लागेको तस्बिरसहित काठमाडौँ र ललितपुरका केही ठाउँमा ठूलो आवाजमा पड्केकोलगायतका खबर छाएपछि काठमाडौँमा त्रासपूर्ण वातावरण सिर्जना भएको थियो। 

विमानस्थल कार्यालयका अनुसार सुरुमा पाइलटले इन्जिनमा समस्या आएको जानकारी गराएपछि आपत्कालीन अवतरणका लागि विमानस्थल खाली गराइएको थियो। विमानस्थलमा एम्बुलेन्स र दमकलसहितका सुरक्षादस्ता तयारी अवस्थामा राखिएको थियो। उक्त समयमा विभिन्न गन्तव्यबाट आएका एयर अरेबिया, मलेसियन एयर, सिङ्गापुर एयर, बुद्ध एयरलगायत सातवटा जहाजलाई सिमराको आकाशमै होल्ड गराइएको थियो। आधा घण्टा काठमाडौँको आकाशमा फन्को मारेको उक्त जहाज पछि सबै प्यारामिटर नर्मल रहेको भन्दै गन्तव्यतर्फ लागेपछि ९:५० बजे विमानस्थल पुनः सञ्चालनमा ल्याएर अन्य जहाजलाई अवतरण गराइएको थियो।

घटनालगत्तै फ्लाई दुबईको आधिकारिक ट्विटरमा ट्विट गर्दै फ्लाई दुबईका प्रवक्ताले जहाजमा चरा ठोक्किएको बताउनुभएको छ। उहाँले जहाजमा लाटोकोसेरो ठोक्किएको अनुमान गर्दै एक इन्जिनको सहायताले गन्तव्यतर्फ उडान भरेको उल्लेख गर्नुभएको छ। “काठमाडौँबाट दुबईका लागि उडेको फ्लाई दुबईको एफजेट ५७६ उडान भरेको केही समयमै चरा ठोक्कियो। विशेष मापदण्ड अपनाएपछि उडान सामान्य रूपमा गन्तव्यतर्फ आइरहेको छ,” सार्वजनिक ट्विटमा फ्लाई दुबईका प्रवक्ताले उल्लेख गर्नुभएको छ।

जहाज सुरक्षित अवस्थामा रहेको जानकारी दिँदै उहाँले दुबईको स्थानीय समयअनुसार १२:१४ मा अवतरण गर्ने तयारीमा रहेको जनाउनुभएको छ। जहाजको इन्जिनमा आगलागी भएको खबर सार्वजनिक भएसँगै देश–विदेशबाट फ्लाइट राडारमा करिब ७० हजार व्यक्तिले उक्त जहाजलाई फलो गरिरहेका थिए। 

यता विमानस्थल प्रमुख प्रतापबाबु तिवारीले ‘जहाजको इन्जिनमा फ्युल पास हुँदा स्पार्क भएर आगो देखिएको र इन्जिनमा कुनै समस्या नदेखिएपछि चालक दलले इन्जिनमा कुनै समस्या नरहेको’ भन्दै उडानलाई निरन्तरता दिने निर्णय गरेको बताउनुभएको छ। 

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उड्नासाथ जहाजमा समस्या आयो भनेर खबर आएको र केहीबेर काठमाडौँमा होल्ड गरेपछि आफ्ना सबै प्यारामिटर चेक गरेर नर्मल देखिपछि जहाज गन्तव्यतर्फ लागेको बताउनुभयो।

त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सामाजिक सञ्जालमार्फत फ्लाई दुबईको जहाज सुरक्षित आफ्नो गन्तव्यतर्फ गएको भन्दै चिन्ता नगर्न अनुरोध गर्नुभएको थियो। जहाजलाई सकुशल अवतरण गराउन प्राधिकरण महानिर्देशकसहित विमानस्थलका कर्मचारी सोमबार साँझ विमानस्थलमा भेला भएका थिए। जहाजमा १२० जना नेपाली यात्रु सवार थिए।   

Author
मीनराज भण्डारी

भण्डारी पर्यटन र नागरिक उड्डयन क्षेत्रमा कलम चलाउनुहुन्छ ।