• २८ पुस २०८१, आइतबार

वाइफाईका लागि तिलोत्तमामा ३८ डिभाइस जडान

blog

फ्रि वाइफाई शुभारम्भ गर्दै नगरप्रमुख तथा उपप्रमुख लगायत । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली 

सिद्धार्थनगर, वैशाख ११ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ‘सूचना राजमार्ग’ को अवधारणा अगाडि सारिएको छ । नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको योगीकुटीदेखि कटैयासम्म फ्री वाइफाई जडान गरिएको हो ।

जनतालाई प्रविधिमैत्री बनाउन र सहजताका लागि बुटवल बेलहीया सिक्सलेन व्यापारी मार्गको तिलोत्तमा क्षेत्रमा फ्री वाइफाई जडान गरेर शुभारम्भ गरिएको हो । लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्गमार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तर्गत फ्री वाइफाई सेवाको सोमबार मणिग्राम चोकमा एक कार्यक्रमबीच शुभारम्भ गरिएको हो ।

सेवाको शुभारम्भ गर्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले देशकै नमुना नगरपालिका तिलोत्तमामा स्वदेश तथा विदेशबाट आएकाहरूको र स्थानीयलाई पनि सहज इन्टरनेट प्राप्तिका लागि यो कार्यक्रम शुभारम्भ गरिएको बताउनुभयो ।  

उहाँले भन्नुभयो, ‘नगरलाई प्रविधिमैत्री बनाउन, नगरका १७ वटै वडामा पनि यसलाई बिस्तार गरिनेछ, हाइवे क्षेत्रमा हिँड्ने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत यसले राहत दिनेछ, यसले राम्रो प्रभाव पार्नेछ ।’ नगरपालिका भित्रका व्यवसायहरू के–के छन्, त्यसको सबै विवरण र तिलोत्तमाको सबै विवरण जेठ मसान्तभित्र वाइफाई खोलेपछि सहजै हेर्न सक्ने व्यवस्था समेत मिलाइने उहाँको भनाइ छ ।

उपप्रमुख जागेश्वरीदेवी चौधरीले यहाँका स्थानीयलाई निकै महत्त्वपूर्ण काम गर्न सहज हुने विश्वासका साथ यो सेवाको शुभारम्भ गरेको बताउनुभयो । यो सेवाले तिलोत्तमा क्षेत्रमा आउने पर्यटकलाई समेत निकै फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । योगी कुटिदेखि कोटीहवासम्मको १३ किलोमिटर सडकमा ३८ वटा डिभाइस जडान गरिएको नगरपालिका सूचना प्रविधि उपशाखा प्रमुख सुदिप ढकालको भनाइ छ । करिब ८५ लाख खर्चमा वाइफाई जडान गरिएको छ । 

यसले एक ठाउँमा लगइन गरेपछि १३ किलोमिटरभित्र दूरीमा राखिएका विभिन्न डिभाइसबाट सहजै काम गर्ने उहाँको भनाइ छ । एउटा डिभाइसले एक पटकमा २५६ वटासम्म कनेक्ट गर्न सक्ने क्षमता रहे तापनि तत्कालका लागि १०० वटा डिभाइस कनेक्ट हुने र टिकटक र ब्यान्ड गरिएका केही वेभ पोर्टल भने चलाउन नमिल्ने सूचना प्रविधि उपशाखाका मोहन न्यौपानेले जानकारी दिनुभयो ।