• २० असोज २०८१, आइतबार

महोत्तरीमा नौ राउण्ड हवाई फायर, सुरक्षाकर्मीसहित ११ घाइते

blog

महोत्तरीको गौशाला नगरपालिका–४ मल्हनिया पोखरी गाउँमा भएको प्रहरी र प्रदर्शनकारी झडप । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, वैशाख ११ गते ।
महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका –४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो । स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चार र नेपाल प्रहरीले पाँच गरेर नौ राउण्ड हवाई फायर गरेको गौशालास्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिनुभयो। 


सशस्त्र एसपी लेखनाथ खनालले स्थिति नियन्त्रणमा लिन १३ सेल अश्रु ग्याससमेत प्रहार गरेको जानकारी दिनुभयो ।  प्रदर्शनकारी बाँसको भाटा प्रहार गर्दा सशस्त्र र नेपाल प्रहरीका निरीक्षकद्वय शङ्कर थापा र मनोज यादव घाइते हुनुभएको छ । झडपमा सशस्त्र र नेपाल प्रहरीका गरी आठ र प्रदर्शनकारी तीन गरेर ११ जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार प्रदर्शनकारीको उग्र भीडले हत्या आरोपी उमेश साहको घरमा तोडफोड गर्न लागेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको हो । मलहनीया पोखरी गाउँकी २५ वर्षीया आरतीदेवीको गत शुक्रबार राति विष सेवनका कारण मृत्यु भएको थियो । तर छिमेकी गाउँलेले भने आरतीलाई श्रीमान् उमेश साह, नन्द आशा र सासू र जेठाजुले यातना दिएर हत्या गरेको आरोप लगाउँदै आएका छन् । प्रहरीले आरतीको मृत्यु लगत्तै उमेशलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ । गाउँलेले भने आरतीको सासू, नन्द र जेठाजुलाई समेत पक्राउ गरी घटना छानबिनको माग राख्दै आएका थिए ।


सोही विषयलाई लिएर गाउँका अधिकांश महिलाले माईस्थान गौशाला सडमा टायर बालेर सोमबार अपराह्नदेखि विरोध प्रदर्शन सुरु गरेका थिए । 

‘‘महिला हिंसा बन्द गर, आरतीदेवी हत्याका अभियुक्तलाई पक्राउ गर, शान्ति सुरक्षा कायम गर’’ जस्ता नारा लगाउँदै करिब तीन सयजति गाउँलेले सुरु गरेको प्रदर्शन उमेश साहको घरमा पुगेपछि उग्र बनेको थियो ।

घटनास्थलबाट प्रत्यक्षदर्शीले जनाएअनुसार प्रदर्शनकारीले साहको घरमा तोडफोड गर्न लागेपछि सशस्त्र र नेपाल प्रहरीले रोक्न खोज्दा प्रदर्शनकारीले ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर र अश्रु ग्यास प्रहार गरी स्थिति नियन्त्रण लिएको थियो । प्रदर्शनका कारण माईस्थान गौशाला समसी सडक केहीबेर अवरुद्ध भएको थियो ।