• १२ साउन २०८१, शनिबार

महिला जननेन्द्रियका क्यान्सर

blog

अमेरिकामा महिलामा हुने क्यान्सरमध्ये ५१ प्रतिशत तथा क्यान्सरले हुने मृत्युमा २८ प्रतिशत स्तन, डिम्बाशय एवं पाठेघरको क्यान्सर कारक हुन्छ । विकसित देशको क्यान्सर सूचीमा स्तन क्यान्सर माथि भए पनि विकासोन्मुख देशमा स्त्री जननेन्द्रिय क्यान्सर त्यसमा पनि पाठेघरको मुखको क्यान्सर सबभन्दा बढी देखिएको छ । 

महिलामा स्तन, डिम्बाशय, पाठेघरको मुख एवं पाठेघरको क्यान्सरबाहेक स्त्री जननेन्द्रियमा विरलै मात्र हुने खालको क्यान्सरको यस प्रकार छन् ।

भल्भाको क्यान्सर

स्त्री जननेन्द्रिय (योनि)भन्दा माथि रौँले ढाकिएको भागलाई अङ्ग्रेजीमा भल्भा भनिन्छ । यस भागमा विरलै मात्र क्यान्सर हुन्छ । १.७ प्रतिलाख अर्थात् स्त्री जननेन्द्रिय क्यान्सरमध्ये करिब ३–५ प्रतिशतमा यस प्रकारको क्यान्सर हुन्छ ।

प्रायः महिनावारी सुकिसकेकी, औसत ६० वर्षकी, गोरा जाति, मोटोपना, उच्च रक्तचाप एवं मधुमेहबाट पीडित, बच्चा नपाएकी महिलामा भल्भाको क्यान्सरको जोखिम बढ्ता देखिएको छ । ह्युमेन पापिलोमा भाइरसको सङ्क्रमण पनि कारक तत्व हुन सक्छ । यसमा सम्बन्धित भागमा बढी चिलाउने, चिडचिडे हुने, सुन्निने, पिसाब गर्न गाह्रो हुने लक्ष्यण देखिन सक्छ । यस्तो क्यान्सर धेरैजसो योनिद्वार ढाक्ने बाह्य पत्रमा हुन्छ भने योनिद्वारको अगाडिपट्टिको दुईतिहाइ भागमा घाउ पनि हुन सक्छ ।

भल्भाको क्यान्सर बायोप्सीबाट पत्ता लाग्छ भने क्लिनिकल जाँचबाट कुन तहको क्यान्सर हो निर्धारण गरिन्छ । यस खालको क्यान्सरको उपचारको क्रममा प्रभावित भल्भा निकाल्ने शल्यक्रिया गरिन्छ । यदि शल्यक्रिया सम्भव हुँदैन भने वा क्यान्सर दोहोरिए रेडियोथेरापी वा केमोथेरापी दिइन्छ । 

योनिमार्गको क्यान्सर

यो निकै विरलै खालको क्यान्सर हो । ०.६ प्रतिलाखमा तथा स्त्रीलाई हुने क्यान्सरमध्ये एक प्रतिशतमा यस्तो खालको क्यान्सर हुन्छ । योनिमार्गको क्यान्सर पाठेघरको मुखको क्यान्सर हो जस्तो पनि लाग्न सक्छ तर यो फरक हुन्छ । योनिमार्गकै क्यान्सर भन्नलाई ट्युमर योनिमार्गमै पलाएको, पाठेघरको मुख वा भल्भामा संलग्न नभएको, अन्यत्र नफैलिएको हुनुपर्दछ ।

ह्युमेन पापिलोमा भाइरसको सङ्क्रमण, पाठेघरको मुखको क्यान्सर भएको, योनिमार्गमा विकीरण प्रभाव परेको, लामो समय रिङ पेसरी लगाएको तथा गोरा जाति यस प्रकारको क्यान्सरका जोखिम तत्व हुन् ।

यो क्यान्सर योनिमार्गको माथिल्लो एकतिहाइमा बढ्ता हुन्छ । औसतमा ५५ वर्षकी महिलालाई लाग्दछ । यस खालको क्यान्सरबाट प्रभावित कतिपय महिलालाई कुनै लक्षण नदेखिन सक्छ भने कतिपयलाई असामान्य प्रकारको रक्तस्राव (योनिबाट), यौनसम्पर्क लगत्तै रक्तस्राव, गन्धयुक्त योनिस्राव जस्ता लक्षण देखिने हुन्छ । आन्तरिक जाँचको क्रममा प्रभावित भागमा अल्सर वा काउलीजस्तो गरी कोषको वृद्धि भएको देखिए पनि पाठेघरको मुख भने सामान्य देखिन्छ । बायोप्सी वा कल्पोस्कोपी जाँचपछि क्लिनिकल जाँचबाट तहगत निर्धारण गरिन्छ । शल्यक्रिया वा रेडियोथेरापी वा केमोथेरापी यस खालको क्यान्सरको उपचारका विकल्प हुन् ।

डिम्बवाहिनी नलीको क्यान्सर

विरलै मात्र हुने यस खालको क्यान्सर स्त्रीसँगसम्बन्धी क्यान्सरमध्ये केवल ०.५ प्रतिशतमा हुन्छ । यस क्यान्सरबाट डिम्बवाहिनी नलीको चारवटा भागमध्ये मध्यतिरको एम्पुलाको भित्री तह बढी प्रभावित हुने गर्छ । महिनावारी सुकेपछि पनि महिलाले पुनः रक्तस्राव, पानी जस्तो योनिस्राव हुने, तल्लो पेट दुख्ने, कटक्क काट्ने सिकायत गर्दछिन् भने यो क्यान्सरको जोखिम हुन सक्छ । प्रायः बच्चा नपाएकी महिलामा यस्तो क्यान्सरको जोखिम उच्च हुन्छ । 

ल्याप्रोस्कोपी एवं अल्ट्रासाउन्डबाट यस खालको क्यान्सरको निदान हुन्छ । यस प्रकारको क्यान्सरको निश्चित उपचारका लागि पाठेघरसहित दुवैतिरको डिम्बाशय एवं पेट ढाक्ने झिल्ली निकाल्ने शल्यक्रिया गरिन्छ । शल्यक्रिया गर्न नमिल्ने तथा शरीरको अन्यत्र फैलिसकेको डिम्बवाहिनी नलीको क्यान्सरका लागि रेडियोथेरापी वा केमोथेरापी दिइन्छ ।

ट्रोफोब्लास्टिक ट्युमर 

कहिलेकाहीँ मोलार प्रकारको गर्भ (अङ्गुरको दानाजस्तो हुने गर्भ) पनि क्यान्सरमा परिणत हुन सक्छ । गर्भ प्रक्रिया सकेपछि पनि ट्रोफोब्लास्ट नामक कोषको अत्यधिक वृद्धि भई ट्रोफोब्लास्टिक ट्युमर बन्न सक्छ । यस्तो ट्युमर पाठेघरभित्रै रहने वा अन्यत्र फैलिने तथा कम वा उच्च जोखिमको हुन्छ । ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन (एचसीजी) हर्मोनको मात्रा तीन वा सोभन्दा बढी हप्तासम्म पनि घटेको हुँदैन वा एक पटक घटेर फेरि बढ्न सक्छ । पाँच हजार गर्भवतीमध्ये एक जनामा गर्भकै कारणले हुने ट्रोफोब्लास्टिक ट्युमर हुने सम्भावना रहन्छ । 

कोरियो कार्सिनोमा

गर्भे शिशु ढाक्ने झिल्लीमध्ये कोरियन नामको एक प्रकारको झिल्लीबाट सुरु हुने यो क्यान्सर अत्यधिक गम्भीर खालको ट्रोफोब्लास्टिक ट्युमर हो । मोलार खालको असामान्य गर्भमध्ये तीनदेखि पाँच प्रतिशतमा कोरियोकार्सिनोमा हुन सक्छ । प्रभावितमध्ये ५० प्रतिशतमा मोलार गर्भपछि, २५ प्रतिशतमा गर्भ तुहिएपछि वा नलीमा गर्भ रहेपछि एवं २५ प्रतिशत महिलामा सामान्य गर्भपछि कोरियो कार्सिनोमा हुन सक्छ । कोरियो कार्सिनोमाको समस्या प्रायः पाठेघरमै सीमित रहन्छ । कोरियो कार्सिनोमाबाट प्रभावित महिलामा अनियमित रक्तस्राव (योनिबाट)हुने वा महिनावारी रोकिने हुन सक्छ । 

कोरियो कार्सिनोमाका लक्षण अन्य अङ्ग विशेषमा क्यान्सर पैmलिएअनुसारको हुन्छ । जस्तै फोक्सोमा फैलिए खोकी लाग्ने, स्याँस्याँ हुने, खकारमा रगत देखापर्ने तथा योनिमार्गमा फैलिए अनियमित वा निकै थोरै वा हल्का रक्तस्राव हुने, मस्तिष्कमा पैmलिए टाउको दुख्ने, कम्पन छुट्ने, पक्षाघात हुने वा बेहोस हुने र कलेजोमा फैलिए माथिल्लो पेट दुख्ने एवं जन्डिस हुने गर्छ ।

यस खालको क्यान्सरको निदानका लागि ट्युमर मार्करका रूपमा ह्युमेन कोरिओनिक गोनाडोट्रोफिन (एचसीजी) हर्मोनको मात्रा, छातीको एक्सरे, अल्ट्रासाउन्ड एवं पाठेघरको बायोप्सी गर्न सकिन्छ । कोरियो कार्सिनोमा पाठेघरमा मात्र निहित छ कि अन्यत्र पनि फैलिसकेको छ, त्यसैको आधारमा तहगत निर्धारण गरिन्छ । मेथोट्रेक्सेट लगायतका केमो औषधिहरूको साथै आवश्यकता भए पाठेघर निकाल्ने शल्यक्रिया गर्नु पर्दछ । मस्तिष्कमा फैलिएको भए रेडियोथेरापी दिइन्छ । जोखिममा भएकीलाई आवश्यक केमो औषधि दिई फलोअपमा राखिनुपर्दछ ।