काठमाडौं, वैशाख १० गते। नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले ठूलो राजनीतिक परिवर्तनपछि पनि मुलुक जस्ताको तस्तै रहेको बताउनुभएको छ। नेकपा स्थापना दिवस तथा वाम एकताको सम्भावनाबारे आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले लामो राजनीतिक परिवर्तनपछि पनि सांस्कृतिक, आर्थिक एवम् शिक्षा, स्वास्थ्य, कृषि लगायतका सबैजसो क्षेत्रमा कुनै पनि परिवर्तन हुन नसकेको बताउनुभयो। गत मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जनताले कसैलाई पनि बहुमत नदिएको उहाँको भनाइ छ।
नेता खनालले भन्नुभयो, “न बजेट, न आधार, न ग्राउण्ड छ। आकाशतिर हेरेर भुँइका काम गर्न मिल्छ र ? शिक्षा, स्वास्थ्यमा क्रान्तिको कुरा, न गरिबी उन्मुलन। त्यत्रो ठूलो परिवर्तनपछि पनि मुलुक जस्ताको तस्तै छ। अनि जनता रिसाउनु परेन त। दोस्रो चुनावमा कुनै पनि पार्टीलाई बहुमत दिएनन्, कसैसँग बहुमत छैन। एमाले र कांग्रेस मिले हुन्छ नभए, भ्यागुताको धार्नी अनि कसरी देशमा काम गर्न सकिन्छ ?”
उहाँले आर्थिक स्थिति भयावह सङ्कटमा रहेको भन्नुहुँदै राजस्वले कर्मचारीलाई तलब दिने स्थितिमा समेत अभाव रहेको बताउनुभयो। निश्चित धर्मका नाममा पछिल्ला वर्षमा ठूलो लगानी भइरहेको र राष्ट्रियता सङ्कटमा परेको उहाँको भनाइ छ।
“हरेक पाँच वर्षमा भयानक परिवर्तन भइरहेको छ। निश्चित धर्मका नाममा कत्रो लगानी भएछ यो देशमा। राष्ट्रियताको सङ्कट छ। सैनिक आएर महिना–महिनामा नेपाली सेनालाई प्रशिक्षण दिन्छन्। नेतृत्वले यसलाई कति गम्भीर रूपमा लिइरहेको छ। नेपाली सेनाले देश त बचाइ राखेको छ”, उहाँले भन्नुभयो।
उहाँले वैचारिक, सैद्धान्तिक आधारमा वामपन्थी पार्टीबीचमा पार्टी एकताको ढोका सधैँ खुला रहेको पनि प्रस्ट्याउनुभयो। उहाँले भन्नुभयो, “जसरी २०७५ जेठ ३ गते दुई पार्टीको ठाउँकोकाे एकता बालुवाटारमा पुग्ने स्वार्थको एकता थियो। अब, साँच्चिकै एकतामा बदल्ने प्रयास गर्नुपर्छ। पार्टी विघटनको घोषण भयो। सारा पार्टी कमिटी विखण्डन गर्नुपर्ने के जरुरत थियो ? मतभिन्नता हुने बित्तिकै आग्रह, पूर्वाग्रहका आधारमा। साझा आधार छन्, मिल्न पनि तयार छन्। जो कसैसँग पनि जुनसुकै बेला पनि ढोका खुला हुन्छ, अरू कसैले गर्छ भने त्यो सङ्कीर्ण हो।”
नेकपाका तत्कालीन अध्यक्षद्वय एक ठाउँमा नरहेको प्रसङ्ग जोड्नुहुँदै उहाँले जेट विमानका पाइलट एकै ठाउँमा बस्न नसकेको बताउनुभयो।