रौतहट समाचारदाता
रौतहट, वैशाख १० गते । दलित भन्नासाथ गरिबीको रेखामुनि रहेका, रोगी, फोहोरी, अशिक्षित, अबुझ, असभ्य मानिस हुन् भन्ने बुझाइ समाजमा अझ पनि विद्यमान छ तर रौतहटको गुजरा नगरपालिका–५, लक्ष्मीपुरको दलित मुसहर बस्ती जिल्लाकै उदाहरणीय र नमुना बस्तीका रूपमा परिचित छ। कुल २८ घरधुरी रहेको सो बस्तीमा दुई/तीन जना ज्येष्ठ नागरिकबाहेक सबै साक्षर र शिक्षित छन्। आधारभूत शिक्षादेखि स्नातकोत्तरसम्मका शिक्षा हासिल गरी जागिर पेसामा आबद्ध युवा पनि छन् यस बस्तीमा।
कृषि विषय लिई ‘डिप्लोमा’ गर्नुभएका छात्रा अस्मिता र रमिता, छात्र सन्दीप, विशाल र रवीन्द्र मुसहर बस्तीकै उपज हुन्। पशु स्वास्थ्य विषय लिई उत्तीर्ण भएका युवादेखि स्नातकोत्तर शिक्षा हासिल गर्ने नथुनी माझी र महेन्द्र माझी मुसहर समुदायका तारा बनेका छन्। अहिले उहाँहरू एक गैरसरकारी संस्थामा कार्यरत हुनुहुन्छ। बस्तीको मुसहर युवाको आकर्षण पशु तथा कृषि शिक्षातर्फ रहेको पाइन्छ। प्राविधिक शिक्षाले रोजगारीको सिर्जना गर्ने, आफ्नो खुट्टामा आफैँ उभिन सकिने भन्दै बस्तीका अधिकांश किशोरी सोही लक्ष्य लिई अघि बढेका छन्।
बस्तीकी अगुवा महिला राजवती माझी भन्नुहुन्छ, “यहाँको बासिन्दामा स्वास्थ्यसम्बन्धी चेतना अधिक छ। व्यक्तिगत तथा पारिवारिक स्वास्थ्यप्रतिको चेतनामा कुनै कमी देखिँदैन। सबै मिलेर घरआँगन चोकलगायत बस्तीभित्रका सडकसमेत सधै सफा राख्छन्। महिलाले प्रजनन स्वास्थ्यको ख्याल राख्नुदेखि नवजात शिशुलाई लगाइने खोपको नाम र कुन उमेर समूहमा कुन खोप लगाउनुपर्छ भन्ने समेत बुझेका छन्।”
यस्तै जग्गा जमिन कमै भए पनि बस्तीका मुसहरले ‘बटैया’ (खर्च कटाएर उत्पादित अन्न जमिनदार र जोताहालाई आधा आधा पारिने प्रचलन) र हुन्डा (जमिनदारलाई वर्षको एकमुष्ठ दिने अन्नको परिमाण वा पैसा)मा खेत सकार गरी खेतिपाती पनि गर्दै आएका छन्। रोजगारी नपाएका नागरिक कृषि पेसामा आवद्ध रही आफू र आफ्नो परिवारको आवश्यकता पूरा गरेका छन्। राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका सदस्यसमेत रहनुभएका स्थानीय प्रदीप माझीले बस्तीको २० घरधुरी मिलेर साढे दुई बिघा जमिनमा सामूहिक खाद्यान्न खेती गर्दै आएको बताउनुभयो।
उहाँका अनुसार मुसहर समुदायले ग्रामीण विकास कृषक समूह स्थापना गरी बस्तीमा धान जम्मा गर्ने एउटा कोष खडा गरिएको छ। जसमा चार सय मन धान सुरक्षित रहन्छ र प्रत्येक वर्ष समूहका सदस्यलाई आवश्यकताअनुसार फिर्ता हुने गरी सहयोग गरिन्छ। बस्तीका बासिन्दामा सामाजिक सद्भाव, समझदारी र सहयोगको भावना अधिक छ।
बढ्दो आधुनिकता र प्रविधिको प्रयोगसँगै बस्तीको सबै घरमा इन्टरनेटको पहुँच छ। वाइफाईको प्रयोगले घरमै बसेर बस्ती तथा बाहिरका आफन्तसँग भलाकुसारी गर्ने, समाचार र सूचनामा चासो राख्ने, मनोरञ्जन लिने, अध्ययन र सीपको विकास गर्नेलगायतका क्रियाकलापमा सहजता ल्याएको राष्ट्रिय मुसहर सङ्घका केन्द्रीय सदस्यसमेत रहनुभएका स्थानीय अनुप माझीले बताउनुभयो। उहाँका अनुसार बस्तीमा आधारभूत आवश्यकता परिपूर्ण छ।