• १३ असोज २०८०, शनिबार

हाम्रो सम्पदा

बर्दियाको ठाकुर बाबा (विष्णु) मन्दिर

blog

बर्दिया, वैशाख ९ गते । बर्दिया जिल्लाको ठाकुर बाबा नगरपालिका वडा नं. ९ मा अवस्थित रहेको प्रख्यात ठाकुर बाबा मन्दिर । यस स्थललाई ठाकुर बाबा मध्यवर्ती धार्मिक वन पनि भनिन्छ। 

यो मन्दिर काठमाडाैंबाट करिब ५७८ कि.मि को दुरीमा पश्चिममा रहेको छ । पूर्व पश्चिम राजमार्ग हुँदै बर्दिया जिल्लाको ठाकुरद्धार जाँदा पूर्व पश्चिम राजमार्गको बायाँतर्फ रहेको अम्बासा भन्ने ठाउँबाट १३ कि मि को दुरीमा रहेको ठाकुरद्धारको बाघचौक नजिकै अर्थात् बायाँतर्फ जङ्गलको बिच भागमा यो मन्दिर स्थापित छ। मन्दिरको गर्भ गृहमा २ वटा मूर्ति रहेका छन्। दाहिनेतर्फ कालोप्रस्तरको हनुमानको मूर्ति रहेको छ भने बायाँ तर्फ निकै नै कलात्मक शैलीको कालो प्रस्तरको विष्णु भगवानको मूर्ति रहेको छ, यसै मूर्तिलाई स्थानीयवासीहरु ठाकुर बाबा भन्ने गर्दछन्। 

किम्बदन्तीअनुसार भगवान् कृष्णले ग्वालाको रूपमा रहेको अवस्थामा यो मूर्ति स्थापना भएको थियो। सो मूर्ति कालान्तरमा लोप भएपछि ग्वालाहरूले घाँस काट्ने हँसियालाई एक ढुङ्गामा धार लगाउँदा त्यस ढुङ्गाबाट रगत बग्न थालेपछि त्यहाँ के शक्ति रहेछ भनेर उत्खनन् गर्दा विष्णु भगवानको मूर्ति फेलापारी स्थापना गरिएको हो भनिन्छ। 

यस मन्दिरका महन्थ रामप्रताप दासका अनुसार यी विष्णु भगवानको दर्शन गरेपछि नजिक रहेको नदीमा माघे सङ्क्रान्ति पर्वमा ३, ५ र ७ पटक स्नान गर्ने परम्परा रही आएको छ। माघे सङ्क्रान्ति पर्वका दिन यस मन्दिरमा विशेष पूजा अर्चनाका साथ सात दिनसम्म मेला लाग्ने गर्दछ। विष्णु भगवानको दैनिक बिहान र बेलुका नित्य पूजा हुने गर्दछ। यस विष्णु भगवानको पूजा अर्चना गर्नाले आफूले चिताएको कुरा पुरा हुने जनविश्वास रहेको छ। आफ्नो भाकल पुरा भएपछि भक्तजनहरूले यस मन्दिरमा घण्टीहरू चढाउने गर्दछन्। मन्दिर परिसरमा शिव भगवानको मन्दिर, पंचायणी मन्दिर, सरस्वती मन्दिर, साधु सन्त बस्ने कुटीहरू, धुनी घर आदी रहेका छन्। मन्दिरको केही दुरीमा दुर्गा माताको मन्दिर रहेको छ जहाँ भक्तजनहरू बलि समेत दिने गर्दछन्। 

मन्दिरको संरक्षण एवं व्यवस्थापनको लागि रुद्रबहादुर खडकाको अध्यक्षतामा ठाकुरद्धार मन्दिर व्यवस्थापन तथा विकास समिति गठन गरिएको छ। अध्यक्ष खडकाका अनुसार यो विष्णु भगवानको मूर्ति १० औँ शताब्दीको हो र पहिला यो मन्दिर खुला आकाश मुनी रहेकोमा २०३२(२०३३ सालमा मन्दिर बनाइएको र यस मन्दिरको क्षेत्रफल २६ बिघा जमिन रहेको अध्यक्ष खडका बताउनु हुन्छ।



Author
राजेश ढुंगाना

ढुंगाना गोरखापत्र संस्थानका पूर्व प्रमुख फोटो सम्पादक तथा हाल स्वतन्त्र फोटो पत्रकार हुनुहुन्छ ।