• १० मंसिर २०८१, सोमबार

श्याग्या परम्परा

blog

गोरखाको उत्तरी भेगमा रहेको चुम उपत्यकामा कुनै पनि जीवजन्तु काटमार गरिँदैन । यस्तो प्रचलनलाई त्यहाँका स्थानीय चुम जातिले बोल्ने चुम्पा भाषामा ‘श्याग्या’ भनिन्छ । चुम्पा भाषामा श्याग्याको अर्थ अहिंसा भन्ने हुन्छ । बौद्धमार्गी चुम जातिले वि.सं. १९७७ देखि चुम उपत्यकामा कुनै जीवजन्तुको हत्या नगर्ने भनी लागु गरेको नियमले अहिलेसम्म निरन्तरता पाएको छ । तिब्बती बौद्ध धर्मशास्त्रअनुसार चुम उपत्यकालाई किमोलुङ बेयुल भन्ने गरिन्छ ।

बौद्ध धर्मगुरु पद्म सम्भवले आठौँ शताब्दीमा हिमाली क्षेत्रमा १०८ वटा बेयुल स्थापना गरेको भन्ने मान्यता रहेको छ । धर्मको पुनर्जागरण एवं रक्षा गर्नका लागि स्थापना गरिएका गोप्य आश्रयस्थलहरूलाई बौद्ध धर्ममा बेयुल अर्थात् लुकेको उपत्यका (हिडन भ्याली) भन्ने गरिन्छ । बौद्ध धर्मानुसार यस्ता भूमिहरू पवित्र मानिन्छन् । अहिलेसम्म तिब्बत, नेपाल, भारत र भुटानमा रहेका बेयुलको मात्रै पहिचान गर्न सकिएको छ । पाकिस्तानमा समेत यस्ता बेयुल रहेको अनुमान गरिएको छ तर तिनको पहिचान हुन सकेको छैन । 

बेयुल क्षेत्रहरू पुण्यभूमि भएको हुँदा बौद्धमार्गी त्यहाँ तीर्थाटनका लागि जान्छन् । नेपालको हिमाली क्षेत्रमा पाँच ठाउँमा बेयुल छन् । तिनलाई किमोलुङ, खुम्बु, खेम्पालुङ, योल्मो र नाग्मो नामले चिनिन्छ । गोरखामा किमोलुङ बेयुल, सोलुखुम्बुमा खुम्बु बेयुल, सङ्खुवासभामा खेम्पालुङ बेयुल तथा रसुवामा योल्मो र नाग्मो बेयुल पर्छन् ।

चुम उपत्यका भव्य र अद्भूत आध्यात्मिक भूमि मानिन्छ । यहाँको पिरेन फु गुफाको ढुङ्गामा तिब्बतका महान् तान्त्रिक गुरु चिप्चुन मिलारेपाको पैतालाको छाप छ । उनी एघाराैँ शताब्दीमा यस गुफामा आएर ध्यान र साधना गरेर बसेका थिए रे ! यहाँ रहेका तेइसवटा गुम्बामध्ये राछेन गुम्बा र मु गुम्बा बढी महìवपूर्ण मानिन्छन् । तिब्बती बौद्ध धर्मशास्त्रअनुसार किमोलुङ बेयुलको अर्थ शान्ति र खुसियालीको उपत्यका भन्ने हुन्छ । यहाँको हिमाली मनोरम दृश्य र सयौँको सङ्ख्यामा रहेका गुम्बा, माने, कानी, मन्दाम, छोर्तेन र घरघरमा फहराएका लुङदर (झन्डा)ले स्वर्गीय आनन्दको अनुभूति दिलाउँछन् । 

यसभन्दाअघि छेकम्पार गाविसमा पर्ने चुम उपत्यका अहिले चुमनुब्री गाउँपालिकामा पर्दछ । यस गाउँपालिकामा चुम, कुताङ र नुब्री गरी तीनवटा हिमाली उपत्यका छन् । चुम उपत्यकामा जीवजन्तुको काटमार गर्न किन रोक लगाइयो भन्ने विषयमा एक किंवदन्ती पनि रहेको छ । 

त्यो हो– पहिले पहिले यहाँका बासिन्दा वन्यजन्तुको सिकार खेल्ने गर्दथे । एक दिन सिकारीले कुकुरको सहयोग लिई मृगलाई लखेट्दै गर्दा मृग चुम उपत्यकामा आइपुगेछ र ध्यान गरेर बसेको लामाको शरणमा पुगेछ । मृगलाई पिछा गर्दै हिँडेका कुकुर र सिकारी पनि यही स्थानमा आइपुगेछन् । त्यसपछि सिकारीले लामासमक्ष प्रायश्चित गरी अब उप्रान्त म जीवजन्तुको सिकार गर्ने छैन भनी प्रतिज्ञा गरेछ । यो घटनापछि चुम उपत्यकामा श्याग्या परम्पराको थालनी गरिएको हो भन्ने स्थानीय बासिन्दाको भनाइ रहेको छ । 

चुम उपत्यकाका बासिन्दा खाद्यान्नमा आत्मनिर्भर छन् । यहाँ गहुँ खेती राम्रैसँग हुन्छ । करिब २० वर्गकिलोमिटर क्षेत्रफलमा यो उपत्यका फैलिएको छ र तीन हजार मिटरको उचाइमा रहेको छ । यो उपत्यकाको बीचबाट स्यारखोला बगेको छ । पूर्वतिरबाट गणेश हिमाल तथा पश्चिम, उत्तर र दक्षिणतर्फ शृङ्गी हिमशृङ्खलाले घेरेको छ । त्यसैले यो उपत्यकाभित्र चिसो हावा पस्न पाउँदैन र गहुँ खेती सम्भव भएको हो । यहाँ लगाइने मुख्य खाद्यान्न बालीहरू गहुँ, करु, आलु, फापर र तोरी हुन् । त्यस्तै यहाँ विश्वमा अति दुर्लभ मानिएको हिमाली खैरो भालु (ब्राउन बियर) पाइन्छ । नेपालमा बिरलै अभिलेख गरिएको यो प्रजातिको भालुलाई कतिपय अध्येताले यती अर्थात् हिममानव पनि भन्ने गरेका छन् । 

श्याग्या परम्परामा अहिंसासम्बन्धी छवटा नियम लागू गरिएको छ । ती नियम क्रमशः वनमा डढेलो नलगाउने, सिकार नखेल्ने, पासो नथाप्ने, मह नकाढ्ने, कुनै पनि जीवजन्तु वा प्राणी काटमार नगर्ने र काटेर खाने प्रयोजनका लागि घरपालुवा गाईबस्तु नबेच्ने रहेका छन् । चुम उपत्यकामा श्याग्या परम्पराको थालनी महागुरु डुक्पा लामा सेराप दोर्जेले १९७७ सालको बुद्ध जयन्ती अर्थात् साका दावाको अवसरमा गर्नुभएको हो । उहाँले त्यस दिन सबै चुमवासीलाई भेला गराएर अब उप्रान्त कुनै पनि प्राणीको हिंसा नगर्ने भन्ने सामूहिक प्रतिबद्धता गराई उक्त प्रतिबद्धता तिब्बती सम्भोटा लिपिमा लिपिबद्ध गराउनुभएको थियो ।

उक्त प्रतिबद्धतालाई पुनः १९९६ र २०२७ सालमा पनि दोहो¥याएको पाइन्छ । यस प्रतिबद्धतालाई २०२९ सालमा देवनागरी लिपिमा उतारेर सामूहिक रूपमा हस्ताक्षर गरी स्थानीय बासिन्दालाई पुनः शपथ गराइएको थियो । अहिंसा क्षेत्रलाई निरन्तरता दिन २०५५ सालमा सांस्कृतिक उत्सव, २०६५ सालमा अहिंसा क्षेत्रको चार किल्ला घोषणा र २०६६ सालमा प्रथम चुम श्याग्या महोत्सव आयोजना गरिएको थियो । २०६९ सालमा गरिएको चुम श्याग्या महोत्सवमा तत्कालीन चुम्चेत गाविसलाई समेत अहिंसा क्षेत्रका रूपमा घोषणा गरिएको थियो । 

श्याग्या परम्परा विगत १०२ वर्षदेखि चुम उपत्यकामा लागू गरिएको प्रथाजनित नियम हो । यो परम्परालाई सुरुमा तिब्बती सम्भोटा लिपि र पछि देवनागरी लिपिमा लिपिबद्ध गरिए पनि यस ‘कम्युनिटी प्रोटोकल’ले कानुनी हैसियत पाउन सकेको थिएन, जसले गर्दा विगतमा यस परम्परालाई निरन्तरता दिन विभिन्न कानुनी अड्चनहरू आइपरेका थिए । त्यसैलाई दृष्टिगत गरी नेपालको संविधान, २०७२ को धारा २२१ र २२६ ले स्थानीय तहलाई दिएको अधिकार प्रयोग गरी हालै चुमनुब्री गाउँपालिकाको गाउँ सभाले चुम श्याग्या ऐन, २०७९ पारित गरी लागु गरेको छ । 

यस कार्यले लामो समयदेखि लागु गरिएको श्याग्या परम्पराले कानुनी हैसियत प्राप्त गरेको छ । श्याग्या परम्परा लागु गर्न गठन गरिएका श्याग्या संरक्षण समूह र समितिलाई यस ऐनले वैधता प्रदान गरेको छ । कानुनले तोकेको क्षेत्रभित्र श्याग्या परम्पराको पालना गर्नु सबैको कर्तव्य हुन आउँछ । 

विश्वका विभिन्न समुदायका मानिस आफ्नो खानपिनको शैली बदलेर शाकाहारी र भिगन बन्दै गएका छन् । पछिल्लो समयमा विश्वभर शाकाहारी मानिसको सङ्ख्या बढ्दै गएको छ । यसले श्याग्या परम्पराको सान्दर्भिकता बढ्दै गएको बुझ्न सकिन्छ । मानव जीवनलाई यस परम्पराले निर्देशित गरेको प्रस्ट हुन्छ । 

पूर्वीय सभ्यतामा पनि शाकाहारी भोजनलाई बढी महìव दिइएको छ र भोजनलाई सत्व, रज र तम गुणी भनी तीन भागमा विभाजन गरेको पाइन्छ । पश्चिमा जगत् पशुअधिकार र वातावरणप्रति बढी सचेत हुन थालेपछि मात्रै शाकाहारी भोजनप्रति आकर्षित हुन थालेको पाइन्छ । सर्वप्रथम सन् १९४४ मा बेलायतमा भिगन समाज बनेको थियो । भिगन भन्नाले मासु र पशुपन्छीजन्य वस्तुरहितको खानालाई बुझाउँछ । बेलायतका युवापुस्ता भिगन बन्दै गएको हालसालै गरिएको अध्ययनले देखाएको छ । 

अमेरिकालगायत २८ देशमा सन् २०१८ मा गरिएको अध्ययनले समेत ३५ वर्षमुनिका ६ प्रतिशत र त्यसभन्दा माथिका उमेर समूहका ३ प्रतिशत मानिस शाकाहारी बनेको पाइएको छ । 

विश्वस्तरमा हेर्दा सबैभन्दा बढी शाकाहारी भारतमा छन् । त्यहाँका २० प्रतिशतभन्दा बढी मानिस शाकाहारी छन् । यसपछि मेक्सिकोका १९ प्रतिशत, ब्राजिलका १४ प्रतिशत, ताइवानका १३ प्रतिशत र बेलायतका ९ प्रतिशत नागरिक शाकाहारी छन् । 

नेपालको हिमाली क्षेत्रमा बौद्ध समुदायको बाहुल्य छ । त्यहाँको समाजलाई पश्चिमी संस्कृतिले कमै मात्र बिटुलेको छ । श्याग्या परम्परा प्रकृति संरक्षणसँग सम्बन्धित छ । डढेलोले हिमाली क्षेत्रको वनलाई सबैभन्दा बढी क्षति पु¥याउने गरेको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापक्रम बढ्दै गएकाले यहाँ पनि डढेलोको प्रकोप बढेको छ । चोरीसिकारीले डढेलो लगाई वन्यजन्तु मार्ने प्रचलन रहेकाले नेपालको हिमाली क्षेत्रमा डढेलोका घटना बढी हुने गरेका छन् । 

श्याग्या परम्परा अन्त पनि पैmलिएमा हिमाली क्षेत्रका वनमा डढेलोको प्रकोप न्यूनीकरण गर्न सहयोग पुग्नेछ । यिनै पक्षलाई दृष्टिगत गरी २०८० साल वैशाख ६ देखि ९ गतेसम्म ‘अहिंसाको अभियान, चुमवासीको पहिचान’ भन्ने मूल नाराका साथ ‘चुम श्याग्या महोत्सव’ मनाइँदै छ । यस महोत्सवले चुमवासीको सामाजिक एवं सांस्कृतिक एकतालाई थप बलियो बनाउनुका साथै प्राकृतिक स्रोत एवं सांस्कृतिक परम्परा जोगाउन सामाजिक प्रतिबद्धतालाई अझै बलियो बनाउनेछ । यस महोत्सवले पितापुर्खादेखि अभ्यास हुँदै आएको धार्मिक तथा सांस्कृतिक विश्वास र अभ्यासलाई युवा पुस्तामा हस्तान्तरण गर्ने अवसर प्रदान गर्नेछ । 

चुम उपत्यकाको मनोरम प्राकृतिक दृश्य र त्यहाँ सयौँको सङ्ख्यामा रहेका गुम्बा, माने, छोर्तेन र फहराएका लुङदर (झन्डा)ले गर्दा त्यहाँ पुग्ने पर्यटकले स्वर्गीय आनन्दको अनुभूति गर्ने गरेका छन् । त्यसैले कतिपय पर्यटकले चुम उपत्यकालाई ‘भू–स्वर्ग’को उपनाम दिने गरेका छन् तर सुरक्षित पदमार्ग र प्रचारप्रसारको अभावले गर्दा चुम उपत्यकाको प्राकृतिक र सांस्कृतिक सम्पदालाई ‘ब्रान्डिङ’ गर्न सकिएको छैन । 

अहिले त्यहाँ बर्सेनि झन्डै तीन सय विदेशी पर्यटक जाने गरेका छन् । त्यहाँ जाने पर्यटकको सङ्ख्या न्यून रहेकाले होटल निर्माणमा लगानी गर्नेहरू निराश बनेका छन् । गोरखाको सिर्दिबास हुँदै बूढीगण्डकी र स्यारखोलाको किनारैकिनार त्यहाँ पुग्ने पदमार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुने गरेकाले टे«किङ कम्पनीहरूले चुम उपत्यकालाई प्राथमिकतामा राखेको पाइँदैन । त्यहाँ पुग्ने पदमार्गको बैकल्पिक व्यवस्था भएमा पर्यटकको सङ्ख्या बढ्न सक्छ । त्यसका लागि गोरखाको आरुघाट, केरौजा, गणेश हिमालको बेसक्याम्प हुँदै चुम उपत्यका पुग्ने पुरानो पदमार्गलाई पुनः सञ्चालनमा ल्याउन उपयुक्त हुने देखिन्छ । 

यो पदमार्गमा मानव बस्तीहरू नभएको हुँदा पर्यटन पूर्वाधारको कमीले सञ्चालनमा ल्याउन नसकिएको हो । यो पदमार्ग पुनः सञ्चालनमा आए चुम उपत्यकामा मात्रै नभई त्यसको दक्षिण–पूर्वी भेगमा रहेको धादिङको रुबिभ्या(लीमा समेत पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ । 

श्याग्या परम्परालाई अझै संस्थागत रूपमा सुदृढ गर्न सकिएको छैन । यस परम्पराको निरन्तरताका लागि जनताको आर्थिक र शैक्षिक स्तरले सबैभन्दा बढी प्रभाव पार्ने हुन्छ तर श्याग्या परम्परा लागु भएका छेकम्पार र चुम्चेतका बासिन्दाको शैक्षिक तथा आर्थिक स्तर कमजोर छ । चुम उपत्यकामा पर्यटन प्रवद्र्धन गर्न त्यहाँ पुग्ने पदमार्ग सुरक्षित हुनुपर्छ । अहिले त्यहाँ पुग्ने पदमार्ग चुम्चेतको लोक्पामा पहिरोका कारण अवरुद्ध भइरहने हुँदा चाहेर पनि पर्यटक त्यहाँ जान सकेका छैनन् । 

रोजगारीको अभावमा युवा पुस्ता गाउँबाट पलायन हुँदै छन् । यसबाट युवा पुस्तामा स्थानीय भाषा, संस्कृति र परम्परा पुस्तान्तरण हुन अवरोध पुगेको छ र यसको प्रभाव श्याग्या परम्परामा समेत परेको छ । बैकल्पिक पदमार्गको व्यवस्था र तिब्बतसँगका नाका पुनः सञ्चालन भएमा यहाँका युवालाई गाउँबाट पलायन हुनबाट रोक्न सकिनेछ ।


   

Author

पशुपति अधिकारी