• २२ असार २०८२, आइतबार

आरन व्यवसायमा दुःख धेरै, कमाइ कम

blog

जयमान बुढामगर

रुकुमपूर्व, वैशाख ९ गते  ।  कृषिमा आधुनिक औजारको प्रयोगसँगै खेतीपाती गर्दा कृषकले प्रयोग गर्ने हँसिया, खुकुरी, फाली, कुटो, कोदालीलगायतका फलामे औजारको किनबेच घटेको छ । पहिलेजस्तो घरेलु उद्योगमा तयार पारिएका औजार बिक्री हुन छाडेको छ । 

विगत तीन दशकदेखि घरेलु आरन उद्योग व्यवसाय सञ्चालन गरिरहेका सिस्ने गाउँपालिका–२, बल्दजुर्नाका हर्कवीर कामी निराश हुनुहुन्छ । “दिनभर दुःख गर्दा एक/दुईवटा औजार बन्छ,” कामीले भन्नुभयो, “बाहिरबाट ल्याइएका बजारमा उस्तै औजार केही कम मूल्यमा पाइने भएपछि हाम्रो दुःख छाडेर फलामको पैसा पनि उठ्दैन ।” 

कृषि औजार बिक्री हुन छाडेपछि उहाँलाई समस्या परेको हो । परम्परागत बालीघरे चलन छाड्दै व्यावसायिक रूप दिई आरन चलाउनेहरू केही वर्षयता पेसाले धान्न नसकेपछि के गर्ने भन्दै दोधारमा छन् । आरनलाई चाहिने कोइला र कच्चा फलाम सजिलै र सस्तो मूल्यमा पाइन छाडेको छ । अर्कातिर बनाइएका सामानको बिक्री पनि घटेको छ । 

“घरेलु उद्योगले हाम्रो दुःखअनुसारको कमाइ नहुने भयो,” कामीले भन्नुभयो, “पूर्ण रूपमा आधुनिक, मझौला तथा ठूला उद्योग सञ्चालन गर्ने लगानी हामीसँग छैन ।” स्थानीय सरकार र प्रदेश मातहतका घरेलु तथा साना उद्योग कार्यालयले वर्षैपिच्छे आरनसम्बन्धी तालिम दिइरहेको सुनाउँदै कामीले थप्नुभयो, “फलामे औजारमा जिल्लालाई आत्मनिर्भर बनाई आरन व्यवसायबाट रोजगारी सिर्जना गर्नेतर्फ सरकारले योजना बनाउनु जरुरी छ ।” गाउँतिर खेती किसानीमा लाग्नेको सङ्ख्या घट्नु, सीमितले गरेको कृषिमा पनि आधुनिक उपकरणको प्रयोग बढ्नु, बजारमा आधुनिक घरेलु हतियारको सहजतालगायतका कारण स्थानीय श्रम र सीपमा आधारित व्यवसाय सङ्कटमा परिरहेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मधुकर डाँगीले बताउनुभयो । सीमित किसानले प्रयोग गर्ने उस्तै घरेलु हतियारको मूल्य स्थानीयले उत्पादन गरेको भन्दा बजारमा आधा सस्तोमा पाइन थालेको डाँगीको भनाइ छ । “घरेलु उद्योगलाई आधुनिक मझौला तथा ठूला उद्योगमा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ,” डाँगीले भन्नुभयो, “यस्तो उद्योग सञ्चालन गर्न कम्तीमा एक करोड रुपियाँ लगानी चाहिन्छ । प्रदेश सरकारले घरेलु कार्यालयमा पठाएको बजेटले ठूला आरन उद्योग स्थापना गर्न बजेटले धान्दैन ।” 

व्यवसायलाई आधुनिक र आत्मनिर्भर बनाउन प्राविधिक उपकरण, कोइला र काँचो फलाममा अनुदान, आधुनिक प्रविधिको तालिम आवश्यक रहेको व्यवसायीको भनाइ छ ।