राममणि दाहाल
हेटौँडा, वैशाख ८ गते । हेटौँडाका खाद्यान्न पसलबाट बिक्री हुँदैआएको चामलका बोरामा तोकिएको भन्दा कम तौल भएको खाद्यान्न विक्री भएको भेटिएको छ । हेटौँडा उपमहानगरपालिका –२ स्थित कान्तिलोक पथमा रहेका खाद्यान्नका अधिकृत बिक्रेताहरुले बिक्री गर्दैआएको चामलका बोराहरु पसलमा नै अनुगमन टोलीले तोकिएको तौलभन्दा कम फेला पारेको हो ।
उपभोक्ता र खुद्रा व्यापारीको गुनासोपछि जिल्ला प्रशासन कार्यालय, मकवानपुरको नेतृत्वमा भएको अनुगमनका क्रममा ३० केजीको बोरामा नौ सय ग्रामभन्दा बढी तौल कम भएको चामल बिक्री गर्दैआएको पाइएको अनुगमनमा संलग्न कर्मचारीले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले छ वटा खाद्यान्न पसलमा अनुगमनको क्रममा चामलको बोरा तौल गर्दा अधिकांशमा कम तौल पाइएको जानकारी दिनुभयो । कम तौल पाइएका कम्पनीका चामलहरु प्रशासनसँग अनुमतिबिना बिक्री नगर्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।
अमृत ब्राण्ड र माँ दुर्गा ब्राण्डका साबित्री, जिरा मसिनो, बासमतीलगायतका चामलको बोरामा कम तौल रहेको अनुगमनका क्रममा पाइएको छ ।
अमृत ब्राण्ड र माँ दुर्गा ब्राण्डका साबित्री, जिरा मसिनो, बासमतीलगायतका चामलको बोरामा कम तौल रहेको अनुगमनका क्रममा पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले प्याकिङभएका बोरामा कम तौलमा चामल पाइएपछि अध्ययन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडालाई जिम्मेवारीसहित पत्राचार गरिएको बताउनुभयो ।
यसैबीच, हेटौँडा अस्पतालको फार्मेसीले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि शुल्क लिएर बिरामीलाई बिक्री गर्दैआएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर र अख्तियार अनुसन्धान आयोगको कार्यालय, हेटौँडामा उजुरी परेको छ ।
हेटौँडा अस्पतालको फार्मेसीले नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको औषधि शुल्क लिएर बिरामीलाई बिक्री गर्दैआएको छ ।
आस्थालिन लगायतका औषधिहरु औषधिको खालमा टिपेक्स लगाएर शुल्क लिँदैआएको पाइएपछि कारबाहीको माग गर्दै उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले बताउनुभयो । सरकारी निःशुल्क औषधि बिक्री गरेको आरोपमा हेटौँडा अस्पतालको फार्मेसीका कर्मचारी विकास लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
सहायक प्रजिअ शर्माले सरकारी निःशुल्क औषधि बिक्री गरेको सम्बन्धमा आवश्यक अनुसन्धान गरी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई पत्राचार गरिएको बताउनुभयो ।