• १३ मंसिर २०८१, बिहिबार

बाटो भासिएपछि भिरमा पक्की पुल निर्माण

blog

सिस्ने गाउँपालिका–२ को मान्द्रे भिरमा निर्माण गरिएको पक्कि पुल । तस्बिर सौजन्य : कर्ण केसी

राजु लामिछाने
रुकुम पूर्व, वैशाख ८ गते । 
रुकुम पूर्वको सिस्ने गाउँपालिका –२ को मान्द्रे भिरमा पक्की पुल निर्माण गरिएको छ । गत वर्षको वर्षायाममा भासिएको बाटोमा हालै पुल निर्माण गरिएको हो ।

सो गाउँपालिकाको छिपखोला, नारायणगढ हुँदै वडा कार्यालय जोड्ने पैदल मार्ग भासिएर जोखिमपूर्ण बनेपछि सिस्ने गाउँपालिकाले पुल निर्माण गरेको हो । सिस्ने गाउँपालिकाका इन्जिनियर कर्ण केसीका अनुसार उक्त भिरमा ६ मिटर लम्बाई र १.५ मिटर चौडाइ भएको पुल निर्माण सम्पन्न गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र जनश्रमदानसहित जम्मा तीन लाख ३० हजारको लागतमा पुल निर्माण गरिएको हो । यसका साथै उक्त सडक खण्डका अन्य स्थानहरूमा पनि बाटो मर्मत र सुख्खा पर्खाल लगाउने काम सम्पन्न भएको छ ।

डरलाग्दो भिरमा रहेको साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयहरू पुल निर्माणपछि खुसी भएका छन् । भिरमा पक्की पुल बनेपछि गाउँपालिकाको केन्द्र रुकुमकोटबाट छिपखोलाबाट हुँदै वडा कार्यालय र नायगाड गाउँ जान सहज भएको वडा अध्यक्ष कृष्णबहादुर खड्काले बताउनुभयो ।

अग्लो भिरबाट तलतिर हेर्दा नै चक्कर लाग्ने खालको बाटो भएकाले ज्यान नै जोखिममा हालेर सर्वसाधारणहरू ओहोरदोहोर गर्न बाध्य भएका थिए । अनकन्टार भिरमा स्थानीय सरकारले पक्की पुलसहितको बाटो बनाएपछि सहज भएको वडाअध्यक्ष खड्काको भनाइ रहेको छ । 

गत वर्षको वर्षायाममा उक्त बाटो भासिएको थियो । भिरमा रहेको उक्त पैदल बाटो भासिएपछि सर्वसाधारणहरू डोरीको सहायतामा झुण्ड्याइका काठमा हिँड्न बाध्य थिए । सर्वसाधारणहरू आफैँले डोरी र काठ बाँधेर बनाएको बाटो थप जीर्ण बनेको थियो ।