• १२ पुस २०८१, शुक्रबार

दुई दिनपछि उपत्यकाको प्रदूषण घट्छ

blog

काठमाडौं, वैशाख ७ गते। केही दिनयता लागेको डढेलो र सवारी साधनबाट निस्कने धुँवाका कारण उपत्यकासँगै देशभर वायु प्रदूषण बढ्दै गएको छ। चार दिनअघि मात्र काठमाडौं विश्वमै सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीमा परेको थियो। प्रदूषण जाँच गर्ने एयर एक्यूआईका अनुसार गत आइतबार काठमाडौंको वायु प्रदूषण सूचक १७७ मापन गरिएको थियो। यो वायु प्रदूषणको ज्यादै खराब अवस्था हो। यसलाई अस्वस्थकर वायुको रुपमा राखिएको छ। बिहीबार पनि काठमाडौंको वायु प्रदूषण सूचक  १६६ मापन गरिएको छ। यो मानवीय दृष्टिकोणले अस्वस्थकर हो। शून्यदेखि ५०  सम्मलाई स्वस्थकर, ५० देखि एक सयसम्मको लागि मध्यम र एक सयदेखि दुई सयसम्म अस्वस्थर वायु मानिन्छ। 

वातावरण विभागले वायु प्रदूषण बढेकाले शतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार देशका विभिन्न ठाउँमा डढेलो लागेका कारण प्रदूषण बढेको हो। विभागका सूचना अधिकारी सरोजा अधिकारीका अनुसार बिहान र बेलुका प्रदूषण बढेको पाइएको छ। प्रदूषण बढी हुने भन्दै उहाँ बिहान नहिँड्न (मर्निङ्ग वाक) नगर्न सुझाव दिनुहुन्छ। “अहिले देशभर डढेलो धेरै लागेकाले प्रदूषणको मात्रा बढेको छ। बिहान र बेलुकाको समयमा प्रदूषण बढेको पाइएकाले मर्निङ्ग वाक नहिँड्नु राम्रो हुन्छ”, उहाँले भन्नुभयो।  

वायु प्रदूषणले वृद्ध, वृद्धा, बालबच्चा, मुटुरोगी तथा श्वासप्रश्वासको समस्या र दीर्घरोगीलाई विशेष ख्याल गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ। मानीसले जानी जानी जंगलमा डढेलो लगाउने गरेको पाइएकाले यस्तो कार्य बन्द गर्न सरकारले स्थानीय पालिकालाई सुझाव दिनुपर्ने उहाँको भनाइ छ। तराईका जिल्लामा गहुँ काटेपछि बाँकी रहको छ्वालीमा आगो लगाउने गरेका कारण पनि प्रदूषणको मात्रा बढेको उहाँको भनाइ छ।

काठमाडौं उपत्यकाको हकमा भने सवारी साधनको धुँवाका कारण पनि प्रदुषण बढेको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘काठमाडौं उपत्यकामा यति धेरै प्रदूषणको मात्रा बढ्नुमा सवारी साधनको धुँवा पनि कारण हो। सवारी साधानको धुँवा ३० प्रतिशत हो भने बाँकी डढेलो नै हो।’’

यस्तै जल तथा मौसम विज्ञान विभाव मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार काठमाडौंमा रहेको वायु प्रदूषणको मात्रा अझै केही दिन यथावत रहनेछ। काठमाडौंमा तत्काल पानी पर्ने कुनै  सम्भावना नरहेकाले प्रदूषणको मात्रा नघट्ने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “काठमाडौंमा तत्काल पानी पर्ने सम्भावना छैन। त्यसकारण काठमाडौंको प्रदूषणको मात्रा केही दिन घट्ने अवस्था देखिँदैन।” 

दुई दिनपछि भने आद्रता केही कम हुने देखिएकाले प्रदूषणको मात्रा पनि घट्ने सभावना रहेको मौषमविद् लामिछानेको भनाइ छ। उहाँले भन्नुभयो, “केही दिनअघिदेखि काठमाडौं उपत्यकाको वायुको आद्रतामा स्थिर छ। त्यसकारण प्रदुषण घटेको छैन। दुई दिनपछि आद्रता कम हुने देखिन्छ। त्यसपछि भने प्रदूषण कम हुँदै जान्छ।” 

 आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षको सम्भावना रहेको उहाँको भनाइ छ। जसले त्यस क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न सघाउने उहाँको भनाइ छ। 

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।