• १५ वैशाख २०८१, शनिबार

५०औँ एक दिवसीय खेल्दै नेपाल

blog

फाइल तस्बिर ।

काठमाडौं, वैशाख ७ गते । एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले शुक्रबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस खेल नेपालका लागि ५०औँ एकदिवसीय खेल पनि हो ।

नेपाल र ओमानको खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले एकदिवसीय खेलको मान्यता दिएको छ । दुवै टोलीलाई एकदिवसीय मान्यता प्राप्त रहेकोले शुक्रबारको खेललाई एकदिवसीय मान्यता दिइएको हो ।

सन् २०१८ मार्चमा एकदिवसीय टोलीको मान्यता पाएको नेपालले त्यसपछि ४९ वटा एकदिवसीय खेल खेलिसकेको छ । नेपालले दुई महिनाअघि सम्पन्न आइसिसी विश्वकप लिगमा मात्र ३६ वटा एकदिवसीय खेल खेलेको थियो ।

नेपालले हालसम्मका ४९ खेलमा २६ जित, २१ हार र एक बराबरीको नतिजा निकालेको छ । एक खेल भने नतिजाविहीन भएको थियो । नेपालले पहिलो एकदिवसीय खेल सन् २०१८ को अगस्ट १ मा नेदरल्यान्ड्ससँग उसैको मैदानमा खेलेको थियो ।

दुई खेलको उक्त सिरिजमा नेपालले एक जित र एक हारको नतिजा निकालेको थियो । प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । 

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । 

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।