• ४ जेठ २०८१, शुक्रबार

सामाजिक सुरक्षा भत्ता खतरामा पर्दैछ : अध्यक्ष ओली

blog

गोरखापत्र अनलाइन

बारा, वैशाख ७ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार कायमै रहे ज्येष्ठ नागरिक, एकल महिला तथा कमजोर आर्थिक अवस्था भएका अल्पसङ्ख्यक नागरिकले पाउँदैआएको सामाजिक सुरक्षा भत्ता खतरामा पर्ने दाबी गर्नुभएको छ । बारा क्षेत्र नम्बर २ मा बिहीबार आयोजित एमालेको चुनावी सभामा उहाँले सो कुरा बताउनुभएको हो । 

देशको आर्थिक अवस्था जर्जर र कमजोर बन्दैगएको र यस्तै अवस्था कायमै रहे मुलुक आर्थिक रूपले कमजोर बन्ने उहाँले बताउनुभयो । देशको अर्थतन्त्र सुधारमा सरकारले काम नगरेको उहाँले आरोप लगाउनुभयो । देश र जनताको पक्षमा काम गर्ने कुनै योजना सरकारसँग नरहेको उहाँले टिप्पणी गर्नुभयो । 

देशका सुरक्षाकर्मीले लगाउने पोसाक समेत खतरामा परेको उहाँले दाबी गर्नुभयो । सुरक्षाकर्मीका लागि खरिद गरिने कपडा खरिदका लागि समेत आर्थिक कमजोरीका कारण सरकारलाई गाह्रो भएको उहाँले बताउनुभयो । एमाले नेतृत्वको सरकारले गरेका विकासका कामले देशको आर्थिक समृद्धिको सुरुवात भए पनि अहिलेको सरकारले देशको आर्थिक हैसियत चिन्ताजनक बनाएको उहाँले गुनासो गर्नुभयो । 

विकास र समृद्धिको क्षेत्रमा देखिने काम सरकारले गर्न नसकेको बताउँदै अध्यक्ष ओलीले देश बनाउने कामको योजना सरकारसँग नभएको दाबी गर्नुभयो । कुनै भ्रममा नपरी एमालेको उम्मेदवारलाई भोट दिएर विजयी बनाउन उहाँले आग्रह गर्नुभयो । देश बनाउन मुलुकमा बलियो राष्ट्रिय शक्तिको खाँचो रहेको र त्यो शक्ति एमाले बन्ने उहाँले बताउनुभयो ।

गठबन्धन सरकारले देशको आर्थिक अवस्था सुधार गर्नै नसक्ने दाबी गर्नुहुँदै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, “आर्थिक समृद्धिको योजना र भिजन एमालेसँग छ, सहयोग गर्न म सबैमा आव्हान गर्दछु ।”