• २० पुस २०८१, शनिबार

जफत सवारी साधनबाट ४१ लाख बढी राजश्व सङ्कलन

blog

जिल्ला प्रहरी कायालयले जफ गरेका सवारी साधन । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, वेशाख ७ गते । जिल्ला प्रहरी कार्यालय नवलपुरले जफत भएका सवारी साधनको लिलाम बिक्री गरेको छ । जफत भएका सवारी साधन व्यवस्थापनका लागि कसुरजन्य सम्पत्ति तथा साधन ऐन २०७० बमोजिम प्रहरी कार्यालय नवलपुरले दुई सय ७१ वटा सवारी साधन विक्री गरेको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले बताउनुभयो । विक्री वितरणबाट ४१ लाख ४३ हजार ३३२ रुपियाँ राजश्व सङ्कलन गरेको छ ।

प्रहरी कार्यालयले नौ महिनाको अवधिमा ३८ पटक विभिन्न प्रकारका भन्सार छलिका सामग्री नियन्त्रणमा लिएको जनाएको छ । बरामद सामग्रीलाई भन्सार चलान गरी ४ करोड ६५ लाख ८५ हजार ८४० राजश्व सङ्कलन गरेको छ । जिल्ला प्रहरी कार्यालयले भन्सार छलीसहित विभिन्न प्रकृतिका कारबाहीबाट चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कुल  ७ करोड २० लाख ७० हजार ८९० राजश्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।

उहाँका अनुसार भन्सार छलीपछि सबैभन्दा धेरै राजश्व ट्राफिक नियम उल्लङ्घन गरेका सवारीको कारबाहीबाट राजश्व सङ्कलन भएको छ । जसअनुसार नौ महिनाको अवधिमा २३ हजार २५० वटा सवारी कारबाहीबाट १ करोड ७९ लाख ४० हजार ५०० राजश्व सङ्कलन गरिएको छ । प्राकृतिक स्रोतको चोरी नियन्त्रणबाट २५ लाख ८ हजार ७०८, काठ तस्करी नियन्त्रणबाट ६ लाख १६ हजार ७५ राजश्व सङ्कलन गरिएको छ ।  

प्रहरीले चालु आर्थिक वर्षमा ५६ जनालाई जुवातास खेल्दै गर्दा नियन्त्रणमा लिएको छ । जसबाट २ लाख ७६ हजार ४३५ राजश्व सङ्कलन गरेको प्रहरी उपरीक्षक तिवारीले बताउनुभयो ।