• २० पुस २०८१, शनिबार

कपिलवस्तुमा आगलागी, २६ घर टहरामा क्षति

blog

विजयनगर गाउँपालिकाको सिसवामा आगलागी हुँदा जलेका घर टहरा । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, वैशाख ७ गते । कपिलवस्तुमा दैनिक आगलागीका घटना हुनेगरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पछिल्लो साता गर्मीसँगै तातो हावा (लु) चलेपछि आगलागीका घटना समेत बढेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो । 

बिहीबार विजयनगर गाउँपालिका –५ सिसवामा आगलागी हुँदा २६ घर टहरामा क्षति भएको छ । बिहान ११ बजेदेखि भएको आगलागीमा १ करोड बढीको क्षति भएको अनुमान गरिएको छ । आगलागीको ३ घण्टापछि नियन्त्रणमा आएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल स्थानीय र शिवराज र कृष्णनगर नगरपालिकाको वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीमा परी फुसको घर ७, गोठ ११, फुसको भन्साघर ५ मा पूर्ण क्षति भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनुभयो । दुई पक्की घरमा आंशिक क्षति भएको छ । आगलागीले खाद्यान्न, लत्ता कपडा लगायतका सामग्री जलेर नष्ट भएको छ । 

आगोमा परी गाईको बाछो जलेर मरेको छ । आगलागी प्रभावित घर परिवारलाई तत्काल खाद्यान्न, लत्ता कपडा राहत स्वरूप प्रदान गर्ने विजयनगर गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताउनुभयो । 

गत चैत २६ गते यता जिल्लाको बुद्धभूमि नगरपालिकाको वडा ८ र ५, शिवराज नगरपालिकाको ११ र ७, यशोधरा गाउँपालिका वडा –८, कृष्णनगर नगरपालिकाको वडा १ र मायादेवी गाउँपालिकाको वडा –६ का बस्तीमा आगलागीका घटना भएका छन् । आगलागीमा पशु चौपाया र धनमाल नष्ट भएका छन् ।

यसैगरी जिल्लाको बुद्धभूमि नगरपालिका वडा ३ को जनजागृति सामुदायिक वनको घाट गद्दी स्थलमा आगलागी हुँदा ३ लाख ५० हजार बराबरको काठ क्षति भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले बताउनुभयो । राजमार्ग आसपासका वन क्षेत्रमा समेत दैनिक रूपमा आगलागी भएको डिभिजन वन कार्यालय कपिलवस्तुका सूचना अधिकारी मदन मोहन स्याण्डिल्यले बताउनुभयो ।