• २० पुस २०८१, शनिबार

जितगढी उत्सवमा नेपाल अंग्रेज युद्धको स्मरण

blog

बुटवल २ मा रहेको जितगढी किल्ला । जहाँ नेपाली फौजले विजय हासिल गरेको थियो । तस्बिर : छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, बैशाख ७ गते । नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुसीयालीमा बिहीबार बुटवलमा जितगढी उत्सव गरिएको छ । वि.सं. १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । 

सोही खुसीयालीमा बुटवल उपमहानगरपालिकाले आजकै दिन जितगढी उत्सव मनाउँदै आएको छ । उत्सवकै अवसरमा बिहीबार जितगढीमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले बुटवलको गौरवको रूपमा रहेको जितगढी किल्लालाई संरक्षण गरी प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो । 

उहाँले जितगढी किल्ला बुटवलको लागि गर्वको विषय भएकाले सबै बुटवलका जनता मिलेर यसको गरिमा वृद्धिमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले बुटवलको जितगढी किल्ला रुपन्देहीकै लागि प्रतिष्ठाको विषय भएको बताउँदै यसको अझै वृहत  संरक्षणको खाँचो औँल्याउनुभयो ।   

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जितगढी किल्ला नेपालको वीरतासँग जोडिएको बताउँदै यसलाई गुरुयोजना बनाएर संरक्षण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले नेपाली वीर गोर्खालीले जितगढीमा देखाएको बहादुरी बुटवलसँगै देशकै लागि गौरवको विषय बनेको बताउनुभयो । जितगढी उत्सवका अवसरमा गोरखादेखि पैदलयात्रामा आएको नेपाली सेनाको टोलीलाई बुटवलमा स्वागत गर्दै पैदलयात्रा समापन गरिएको छ । 

बुटवलको वडा २ मा पर्ने जितगढी किल्लामा १८७१ पुस २१ देखि १८७२ वैशाख ७ गतेसम्म नेपाल–अंग्रेजबीचमा युद्ध भएको थियो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गडवाल (नाहान), मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाई भए पनि बुटवलमा नेपालले जित हासिल गरेको थियो । 

जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादुन हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो । 

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति व्यहोरेर फिर्ता गएको थियो । 

जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि उनीहरूले बुटवलमा आक्रमण गरेको इतिहासमा उल्लेख छ । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजमाथि आक्रमण गरे । यो लडाइमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो । 

पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि ७ वैशाख १८७२ मा  विजय हासिल गरेको थियो । युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए ।