• २० पुस २०८१, शनिबार

अमेरिकाद्वारा युक्रेनलाई ३२ करोड ५० लाख अमेरिकी डलरको सैन्य सहायता घोषणा

blog

वाशिङ्टन, वैशाख ७ गते । संयुक्त राज्य अमेरिकाले बुधवार युक्रेनका लागि नयाँ सैन्य सहायता घोषणा गरेको छ । उक्त सहायता प्याकेज ३२५ मिलियन  अमेरिकी डलर बराबरको छ । प्याकेजमा हाई मोबिलिटी आर्टिलरी रकेट प्रणालीका लागि थप तोप राउण्ड र रकेटहरू लगायतका युद्ध सामग्री रहेका छन् । भ्वाइस अफ अमेरिकाले उल्लेख जनाएअनुसार युक्रेनले उच्च दरमा तोपखाना हतियारहरू चलाउन पर्ने भएकाले यो सहायता घोषणा गरिएको हो ।

सो प्याकेजको घोषणा हुनुअघि रक्षा अधिकारीहरूले उक्त नवीनतम सहायतामा एन्टी–ट्याङ्क निर्देशित मिसाइलहरू, एन्टी–ट्याङ्क माइनहरू र एटी–४ एन्टी–आर्मर हतियारहरू पनि समावेश रहेको बताएका छन् । उक्त युद्ध सामग्रीहरू युक्रेनद्वारा कब्जा गरिएका क्षेत्रहरूमा रहेका रुसी स्थल सेनाहरूलाई पछाडि धकेल्न आवश्यक हुने बताइएको छ ।

युक्रेनको स्थलसेना प्रमुखका अनुसार रुसले युद्धमा उल्लेखनीय क्षति बेहोरेर पनि पूर्वी युक्रेनी सहर बाख्मुतमा भने भारी तोपखाना र हवाई आक्रमण बढाइरहेको पनि अमेरिकी अधिकारीहरूको बुझाइ छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र विश्व बैङ्कका प्रमुखहरूलाई  विश्वभर रहेको रुसी केन्द्रीय बैङ्कको सम्पत्ति जफत गर्न र युक्रेनको पुनर्निर्माणमा मद्दत गर्न आह्वान  गर्नु भएको छ ।

बुधवार (स्थानीय समय) मा विश्व बैङ्क र आईएमएफद्वारा आयोजित भर्चुअल गोलटेबलमा, जेलेन्स्कीले सो आह्वान गर्नु भएको हो । साथै विश्व बैङ्कले युक्रेनको ऊर्जा पूर्वाधार मर्मत गर्ने परियोजनाका लागि आज (बिहीबार) दुई सय मिलियन अमेरिकी डलर अनुदान घोषणा गरेको छ । रासस/एएनआई