• २० पुस २०८१, शनिबार

चितवन २ मा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

blog

कांग्रेसका श्रेष्ठ, एमालेका न्यौपाने र रास्वपाका लामिछाने ।

शालिग्राम नेपाल 

चितवन, वैशाख ७ गते । चितवन २ मा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलका उम्मेदवारहरू मत परिणाम आफ्नो पक्षमा पार्न अन्तिम कसरतमा जुट्नुभएको छ । गत मङ्सिरमा भएको निर्वाचनभन्दा अहिलेको चुनावमा मत वृद्धि गर्ने योजनामा प्रमुख दलहरू देखिएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई गत मङ्सिरको परिणामको रक्षा र नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दललाई गत मङ्सिरको परिणामलाई उल्ट्याउने चुनौती देखिएको छ । सहरदेखि ग्रामीण क्षेत्रका जनताको चाहना अहिले पनि लामिछानेप्रति विश्वास रहेको देखिन्छ । महिला, मजदुर वर्ग र कुनै पनि पार्टीमा आबद्ध नभएका मतदाताको रोजाई घण्टी रहेको विश्लेषण गरिदैआएको छ ।  

निर्वाचन क्षेत्र २ अन्तर्गत भरतपुर महानगरपालिका वडा –११ का जोगमान विकले भन्नुभयो, ‘जनताको जीवनस्तर माथि उकास्ने, महँगी रोक्ने, आपत् परेका बेला हेर्नेजस्ता काममा पार्टीका नेताले सहयोग गरेनन् ।’ 

काम गर्न खोज्ने व्यक्तिलाई अवसर दिनुपर्ने भन्दै उहाँले जनताको भावना समेट्ने पार्टीलाई आफ्नो समर्थन रहेको बताउनुभयो । कालिका नगरपालिका पदमपुरका स्थानीय हरिनारायण चौधरीले भन्नुभयो, “रोजगारी नपाएर छोराहरू विदेश जानु परेको छ, जसलाई मत दिए पनि हाम्रो समस्या कसले बुझ्छ र ?”  

पूर्वी चितवन हुँदै भरतपुरमा अटो रिक्सा चलाउने रोहन लामाले भन्नुभयो, “मत भनेको विचार मिल्नेलाई दिनुपर्छ । विचार सिद्धान्त बोकेको पार्टीसँग नजिक भएका छौँ । तर जनताको काम गर्न सक्ने उम्मेदवार छनौट गर्ने अधिकार हामीलाई छ ।”

नारायणगढमा व्यापार गर्दै आउनुभएका रुद्र चापागाईँले भन्नुभयो, ‘केही वर्षदेखि राजनीतिक दलहरू आफ्नो स्वार्थमा हिँडेकाले उनीहरूलाई सच्याउनु जरुरी रहेको छ ।’ यस पटक म आफ्नो पार्टीभन्दा माथि उठेर काम गर्नसक्ने व्यक्तिलाई मत दिने योजना बनाएको छु उहाँले भन्नुभयो । 

प्राध्यापक रमेशकुमार श्रेष्ठका अनुसार जनताको जनजीविकाको विषयमा राजनीतिक दलले व्यवस्थापन गर्न नसकेको टिप्पणी गर्नुभयो । जनता सधैँ हामीले भनेकै मान्छन् र पार्टीको कार्यकर्ता हुन् भन्ने मान्यता दलका नेताले त्याग्नुर्पे उहाँको भनाइ छ । 

आर्थिक रूपमा समस्यामा परेका जनता, रोजगारी नपाएर बिदेसिनु परेको युवा, बैङ्कबाट ऋण लिएर व्याज तिर्न नसकेका वर्ग, खेती गरेर मूल्य नपाएको किसानको पक्षमा राज्यले बोल्न नसकेको बताउनुभयो । 

यस पटकको उपनिर्वाचनमा एमालेले विगतभन्दा मत वृद्धि गर्ने योजनामा छ भने कांग्रेसले विजयी हुनेगरी लागेको बताउँदैआएको छ । जनताको चाहना पार्टीका नेता तथा कार्यकर्ताले भनेअनुसारको नदेखिएको स्थानीय मतदाताको भनाइ छ । सञ्चार माध्यममा आएका उम्मेदवारप्रतिका टीका टिप्पणी, आरोप प्रत्यारोपका विषयमा जनता सचेत भएको मतदाताको बुझाइ छ । 

चितवनको उपनिर्वाचनमा राजनीतिक दल १२ र स्वतन्त्र गरी २२ जना उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाबाट पार्टी अध्यक्ष रवि लामिछाने, एमालेबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, कांग्रेसबाट पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ, राप्रपा, राजमोलगायतका दलका उम्मेदवार चुनावी मैदानमा रहनुभएको छ ।