सलिम मियाँ
विजुवार, वैशाख ७ गते । प्युठानको गौमुखी गाउँपालिका –५ स्थित ठूलावेशीमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ । नेपाल नेत्र ज्योति सङ्घ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल विजुवारको व्यवस्थापन र गौमुखी गाउँपालिकाको सहकार्यमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।
केन्द्रको उद्घाटन गर्दै गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले आँखा उपचार केन्द्र स्थापनाले यस क्षेत्रका आँखा सम्बन्धी रोगका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँमा स्थापना गरिएको आँखा उपचार केन्द्रलाई नमुना आँखा उपचार केन्द्र बनाउन पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गाउँघरमै उपचार सेवा पाइने भन्दै स्थानीयहरू खुसी भएको वडाअध्यक्ष वरुणध्वज मल्लले बताउनुभयो । गौमुखी आँखा उपचार केन्द्र प्युठानकै पहिलो गाउँपालिका समेत बनेको छ ।