• १४ असोज २०८१, सोमबार

चितवन–२ उपनिर्वाचन: निरन्तरता कि पुरानो भन्ने बहस

blog

वसन्त पराजुली

भरतपुर, वैशाख ७ गते । यही वैशाख १० गते चितवन क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जितलाई निरन्तरता दिनेमा तथा नेपाली कांग्रेस र नेकपा (एमाले) पुरानो विरासत फिर्ता गराउने प्रयत्नमा छन्। 

यस पटक रास्वपा अध्यक्ष लामिछाने, कांग्रेसका युवा नेता जितनारायण श्रेष्ठ र एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका बीचमै चुनावी प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यी तीन र १० स्वतन्त्रसहितका २२ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ। मङ्सिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन–२ मा ठूलो मतान्तरले विजयी बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतबाट सांसद पद खारेजीमा परेपछि यो क्षेत्रमा उपनिर्वाचन हुने भएको हो। 

कांग्रेस, एमालेलगायतका दल अहिले चुनावी प्रचारप्रसारमा आक्रामक देखिएका छन्। उता स्वतन्त्र पार्टी रक्षात्मक देखिएको छ।  एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने आफूले नैतिकवान्, व्यवस्थित र सभ्य समाज निर्माण गर्ने गरी अगाडि बढेको बताउनुभयो। 

“चितवनलाई समृद्ध र विकासमा अगाडि बढाउने कुरामा हामी लाग्ने हो, विगतमा जितेर गएका प्रतिनिधिका गतिविधिकै कारण अनावश्यक रूपमा चितवन–२ मा चुनाव हुन लागेको भन्ने कुरा जनतालाई हामीले बुझाइसकेका छौँ,” उहाँले भन्नुभयो। 

कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले भने आफू स्थानीय र यही क्षेत्रकै माटोमा हुर्किएका कारण मतदाता आफूप्रति विश्वस्त भएको बताउनुभयो। “चितवन पर्यटकीय क्षेत्र हो।  पर्यटक पहिलो पटक आउँदा यहाँका जनताले राम्रै स्वागत गर्छन् तर पटकपटक आएर बस्दै आएर होटल मेरै हो भन्न थाल्यो भने उसलाई कसरी लखेट्न पर्छ भन्ने पनि जनताले बुझेका छन्,” उहाँले भन्नुभयो। 

गत मङ्सिरमा भएको संसदीय निर्वाचनमा यो क्षेत्रमा लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्नुभएको थियो। उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका उमेश श्रेष्ठले  १५ हजार ९९ र एमालेका कृष्णभक्त पोख्रेलको १४ हजार ६४९ मत पाउनुभएको थियो। 

लामिछानेले अघिल्लो पटकभन्दा अहिले आफ्नो मत बढ्ने दाबी गर्दै आउनुभएको छ। चुनावी सभामा उहाँले मतदाताले आफूप्रति अझै पनि भरोसा गरिरहेको बताउने गर्नुभएको छ। “मलाई परिबन्धमा पारेको भन्ने कुरा मतदाताले राम्रोसँग बुझेका छन्। जनता जनार्दन हुन्। उनीहरूले मप्रति गरेको विश्वास कहिल्यै कमी हुन दिने छैन,” उहाँले भन्नुभयो। 

स्वतन्त्र विश्लेषक मूल प्रवाहका पुराना दलप्रति देखिएको वितृष्णालाई लामिछानेले विगतमा लाभ उठाएको बताउँछन्। “अझै पनि पुराना दलप्रति जनताका गुनासा अन्त्य भइसकेको अवस्था छैन। जनतामा देखिएको वितृष्णालाई सदुपयोग गरेर अगाडि बढे भने लामिछानेको पक्षमा मत जान पनि सक्छ तर कांग्रेस र एमालेका दुवै उम्मेदवार युवा र स्थानीय भएका कारण त्यो त्यति सहज भने छैन,” ती विश्लेषकले भने। 

अहिले चितवन–२ मा एक लाख २४ हजार ६९५ मतदाता रहेका छन्। ४८० नयाँ मतदाता थपिएका छन्। गएको निर्वाचनमा एक लाख २४ हजार २१५ मतदाता थिए। निर्वाचनका लागि ४३ मतदानस्थल र १३८ मतदान केन्द्र तोकिएको छ।